धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुुक्रबार बिहान मृत भेटिएकी सुत्केरी तुलसी नाथको हत्या आरोपमा उनकै देवर पक्राउ परेका छन् । २० वर्षीय नवीन नाथलाई पक्राउ गरिएको इलका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले नवीनले आफ्नो भाउजुको हत्या गरेको बयान दिएका छन् । ‘भारतमा रोजगारी गर्दै आएका नवीन अघिल्लो वर्ष चैतमा बिरामी भएर घर फर्किएका रहेछन्,’ डीएसपी चन्दले भने, ‘घर फर्किएपछि बेरोजगार भएको भन्दै भाउजु तुलसीले आफन्त समक्ष कुरा काट्दै गरेको र सोही झोकमा हत्या गरेको बयान नीवनले दिएका छन् ।’
सिरानीले मुख च्यापेर हत्या गरेको बयान दिएका नवीनले तुलसीले कानमा लगाएका सुनका गहना निकालेर घर नजिकै ढुङ्गामुनि लुकाएको अवस्थामा फेला परेका छन् । ‘सुनकै लागि हत्या गरेको भने देखिन्न,’ डीएसपी चन्दले भने, ‘एउटा घटना भइसक्यो । अब सुन पनि किन छोड्ने त भनेर गहना निकालेर लुकाएको देखिन्छ । ती सुनका गहना बरामद गरिएको छ ।’
तुलसी शुक्रबार बिहान घर नजिकैको नालामा मृत भेटिएकी थिइन् । उनको १६ दिनको नवजात शिशु भने सकुशल फेला परेको थियो ।
प्रतिक्रिया