धनगढी । कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवमा तीन करोड त्रिहत्तर लाख अन्ठाउन्न हजार ३६७ रुपैयाँ आम्दानी भएको जनाएको छ ।
संघले मंगलबार महाेत्सवको आयव्यय सार्वजनिक गर्दै मंसिर २२ गतेदेखि पुस ६ गतेसम्म धनगढीमा आयोजना गरिएको १९औं संस्करणको महोत्सवमा उक्त आम्दानी भएको जनाएको हो । सरकारी राजश्व र महोत्सव आयोजना खर्च भुक्तानी गरी बयासी लाख बयानब्बे हजार ४७१ रुपैयाँ खुद नाफा भएको संघका अध्यक्ष पुस्करराज ओझाले बताए ।
उनका अनुसार महोत्सव आयोजना गर्न दुई करोड त्रिसठ्ठी लाख एक हजार ७४० रुपैयाँ खर्च भएको थियो । आयोजना खर्च भुक्तानी गरी एक करोड दश लाख छपन्न हजार ६२८ रुपैयाँ नाफा भएको थियो । उनले महोत्सव आयोजना गरेवाफत् आन्तरिक राजश्व कार्यालयमा सत्ताइस लाख चौसठ्ठी हजार १५७ रुपैयाँ आयकर र तेह लाख अठार हजार ९१२ रुपैयाँ मुल्य अभिबृद्धि कर भुक्तानी गरेको बताए । संघले कलाकार तथा अन्य बस्तु र सेवा खरिदमा दश लाख उन्सत्तरी हजार ७७९ रुपैयाँ अग्रिम आयकर बुझाएको जनाएको छ ।
यसैगरी, धनगढी उपमहानगरपालिकालाई बहालकर र मनोरन्जन कर वाफत चार लाख सोह्र हजार ४७० रुपैंयाँ भुक्तानी गरेको छ भने महोत्सव सञ्चालन अनुमती वाफत उपमहानगरपालिकालाई पच्चिस हजार रुपैयाँ भुक्तानी गरेको अध्यक्ष ओझाले बताए । उनले स्थानीय तहमा दर्ता नभएका व्यवसायीले महोत्सवमा स्टल राखेवाफत् तीन लाख रुपैयाँ बहाल विटौरी कर भुक्तानी गरेको बताए । उनले रमाईलो मेला तथा बाल उद्यानद्वारा उपमहानगरपालिकालाई एक लाख ६० हजार रुपैयाँ मनोरञ्जन कर भुक्तानी भएको बताए । उनले महोत्सव अवधीभर प्रत्यक्ष रुपमा दुई हजार जना भन्दा बढी स्थानीयहरुले रोजगारी प्राप्त गरेको बताए ।
यसैगरी, महोत्सवको आम्दानीबाट संघको नयाँ भवन निर्माणको उधारो समेत चुक्ता भएको छ । संघका अध्यक्ष ओझाले नयाँ भवन निर्माण वाफत् निवर्तमान कार्य समितिबाट भुक्तानी गर्न बाँकी रहेको पैचालीस लाख रुपैयाँ भुक्तानी गरिएको बताए । उनले कर र भवन निर्माणको दायित्व समेत भुक्तानी गरी संघले २४ लाख ७३ हजार ५५९ रुपैयाँ बाँकी रहेको बताए ।
यसवर्ष संघले महोत्सवमा सबै हुने गरेको बाहेक ‘भिजन सुदूरपश्चिम’ नामक छलफलको कार्यक्रम राखेको थियो । ‘सुन्दर सुदूरपश्चिम’ भन्ने नारालाई निरन्तरता दिंदै त्यसलाई सुदूरपश्चिमका सम्भावनालाई कसरी उपयोग गर्न सकिन्छ र त्यसका लागि हामी सबै सरोकारवाला मिलेर के गर्न सक्छौं भन्ने विषयमा छलफल, संवाद गर्ने र साझा निष्कर्षमा पुग्ने उद्देश्यले यसवर्ष सुरुवाती पहल गरेको अध्यक्ष ओझाले बताए । उक्त कार्यक्रम अन्तरगत महोसत्वमा संघले आर्थिक, पर्यटन, कृषि, औद्योगिक, शिक्षा, स्वास्थ्य, सुशासन लगायतका विषयमा दैनिक छलफल चलाएको थियो । यस छलफल र संवादबाट निस्केका निष्कर्ष सुदूरपश्चिमको दीर्घकालीन विकास र समृद्धिका लागि स्पष्ट मार्गचित्र तयार गर्न महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष ओझाले बताए ।
प्रतिक्रिया