धनगढी । माघीलाई नयाँ वर्षको रुपमा मनाउँदै आएको थारु समुदायमा आजदेखि माघी देवानी शुरु भएको छ ।
माघी देवानीमा थारु समुदायले नयाँ भल्मन्सा छनौट गर्ने वा पुरानै भल्मन्सा कायम राख्ने, गाउँमा नीति नियम परिमार्जन गर्नुका साथै वार्षिक योजना निर्माण र गतवर्षको समिक्षा गर्ने गरेका छन् । कैलाली र कञ्चनपुर लगायत तराइँका विभिन्न जिल्लाहरुका माघी देवानीलाई बखेरी, खोज्नी–बोज्नी लगयात विभिन्न नामले पनि चिनाइन्छ ।
थारु समुदायमा परम्परागत रुपमा चल्दै आएको भल्मन्सा प्रणालीमा हरेक माघ महिनाले पहिलो साता वा माघ महिना भरि उपयुक्त दिन पारेर माघी देवानी आयोजना गरिन्छ । यसमा हरेक परिवारबाट एक जना अनिवार्य सहभागी हुने गरेको धनगढी–१६ भादा गाउँका भल्मन्सा सन्तराम चौधरीले बताए ।
प्रत्येक गाउँको आफ्नै नियम अनुसार भल्मन्साको कार्याकाल एकदेखि तीन वर्षसम्मको कायम गरिएको हुन्छ । भल्मन्सासंगै भल्मन्साका सहयोगीहरु चौकीदार, ओर्गान, चिराकी, लिखनदार, देशबन्धा गुरुवा लगायतका व्यक्ति चयन गर्ने गरेको भल्मन्सा चौधरीले बताए । उनले भन्मन्सालाई गाउँलेहरुले पारिश्रमिकको रुपमा वार्षिक रुपमा प्रति घरधुरीको हिसावले बाली दिने गरेको बताए ।
सरकारी तथा गैरसरकारी संस्थाको विकासे कार्यक्रमको सहयोगी बनेको भल्मन्सा प्रणाली परापूर्वकालदेखि थारु समुदायमा सामुहिक शासन प्रणाली हो । यो प्रणालीमा माघी देवानीलाई प्रणालीको सर्वोच्च निकाय मानिन्छ । यसले भल्मन्सा प्रणालीमा संसद्को भूमिका निर्वाह गर्ने गरेको कैलारी गाउँपालिकाले निर्माण गरेको ‘भल्मन्सा प्रणाली संरक्षण तथा विकास ऐन २०७८’ मा उल्लेख छ ।
विकास निर्माण, मेलमिलाप तथा न्याय निरुपणमा सहयोगी भूमिका निर्वाह गरिरहेको भल्मन्सा प्रणालीलाई संरक्षण गर्न स्थानीय तहहरुले कानुन नै बनाएर यस प्रणालीको संस्थागत विकास र संरक्षण गर्न जुटेका छन् । कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका, टीकापुर नगरपालिका, बेलौरी नगरपालिका लगायतका स्थानीय तहले ‘थारू भल्मन्सा (बरघर) प्रणाली संरक्षण, प्रबद्र्धन र विकास ऐन २०७८’ पारित गरी लागु गरेका छन् । ति स्थानीय तहहरुले भल्मन्साहरुलाई बजेट निर्माणमा प्रक्रियामा समेत सहभागी गराउनुका साथै उनीहरुलाई गाउँको सेवा गरेवाफत् यातायात, सञ्चार लगायतका सुविधा समेत दिन थालेका छन् ।
प्रतिक्रिया