धनगढी । विशेष र नियमित महाधिवेशनमा विभाजित भएको नेपाली कांग्रेस प्रदेश र जिल्लामा पनि विभाजित छ । पार्टी सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा विशेष महाधिवेशन पक्षधर कमजोर देखिन्छ ।
सुदूरपश्चिममा कांग्रेसका झण्डै साढे चार सय महाधिवेशन प्रतिनिधि छन् । उनीहरुमध्ये ३० प्रतिशतले विशेष महाधिवेनको पक्षमा हस्ताक्षर गरेका थिए । तिनीहरुमध्ये पनि कतिपयले अब देश निर्वाचनमा होमिएको भन्दै हस्ताक्षर फिर्ताको घोषणा गरेका छन् । कांग्रेस सुदूरपश्चिमका सभापति बीरबहादुर बलायर संस्थापन पक्षका नेता हुन् । उनले एकतावद्ध भएर नियमित महाधिवेशनको तयारीसँगै २१ फागुनको निर्वाचनमा पार्टीका उम्मेदवार जिताउने कार्यमा जुट्न आग्रह गरिसकेका छन् । अन्य चार प्रदेश सभापतिसंग मिल्दै सयुक्त वक्तव्य जारी गरेका बलायरले पुसमा महाधिवेशन हुन नसक्ने अवस्था सिर्जना भएको र आगामी वैशाख २८–३१ मा नियमित महाधिवेशन सम्पन्न हुने भएकाले त्यसअघि विशेष महाधिवेशन गर्ने औचित्य समाप्त भएको बताएका छन् ।
सभापतिसंगै प्रदेशका अन्य पदाधिकारी पनि नियमित महाधिवेशनकै पक्षमा देखिएका छन् । इतर पक्षका मानिएका प्रदेश महामन्त्री नरनारायण शाह र सहमहामन्त्री अम्बिका चलाउनेले पनि विशेष महाधिवेशनमा सहभागी नहुने बताएका छन् । ‘अहिले मेरो स्वास्थ्यमा पनि समस्या छ, म विशेष महाधिवेशनमा सहभागी हुँदैन,’ महामन्त्री शाहले भने । सहमहामन्त्री चलाउनेले आफू अहिले गृहजिल्ला अछाममै रहेको बताइन् । ‘एकढिक्का भएर निर्वाचनमा जानुपर्ने समय हो, म विशेष महाधिवेशनमा सहभागी हुन्न,’ उनले भनिन् ।
प्रदेशमा रहेका नौ जिल्ला सभापतिमध्ये छ जिल्ला सभापति देउवा निकट छन् । कैलालीका सभापति नारायणदत्त भट्ट, कञ्चनपुरका सभापति पदम बोगटी, डडेल्धुराका सभापति भीमबहादुर साउद, डोटीका सभापति नरेन्द्रबहादुर सिंह, अछामका सभापति पुष्पबहादुर शाह र बझाङका सभापति खड्क बोहरा संस्थापन पक्षकै नेताहरु हुन् । बाजुराका सभापति रामसिंह रावल र दार्चुलाका सभापति ललितसिंह बोहरा कोइराला पक्षका नेता हुन् । बैतडीका सभापति चतुरबहादुर चन्द भने विशेष महाधिवेशन पक्षधर नै हुन् । तर, चन्दले पनि पार्टी फुट्ने अवस्था देखिए आफू विशेष महाधिवेशनमा सहभागी नहुने बताए । ‘पार्टी रुपान्तरण र सुधारका लागि विशेष महाधिवेशन बोलाइएको हो भने म सहभागी हुन्छ,’ चन्दले भने, ‘विशेष महाधिवेशनकै कारण पार्टी फुट्ने अवस्था देखिए सहभागी हुँदैन ।’ लिखित रुपमै महाधिवेशनमा सहभागी हुनका लागि आह्वान गर्नसक्ने अवस्था भने नरहेको चन्दले बताए । ‘समितिमा अरु पनि छन्, एक्लै सभापतिले आह्वान गर्नसक्ने अवस्था छैन,’ उनले भने ।
कैलाली सभापति देउवा पक्षकै भए पनि जिल्लामा रहेका १३० जना महाधिवेशन प्रतिनिधिमध्ये २५ देखि ३० जना विशेष महाधिवेशनमा सहभागी हुने तयारीमा छन् । त्यसको नेतृत्व नेता भीम बडूवालले गरिरहेका छन् ।
प्रतिक्रिया