धनगढी । सुदूरपश्चिम प्रदेशका भूमी व्यवस्था कृषि तथा सहकारीमन्त्री बिरबहादुर थापासहितका १२ जनाले पैसा तिरेर कैद किनेका छन् । जेल ब्रेक मुद्दामा मन्त्री थापासहित २१ जनाले छ महिना कैद भुक्तान गर्न बाँकी थियो । १२ जनाले १५५ को सुविधाअनुसार कैद किनेका छन् भने चार जनाको मृत्यु भइसकेको छ । पाँच जनाले भने कैद भुक्तान गर्न बाँकी रहेको जिल्ला अदालतका तहसिलदार नारायणदत्त ओझाले जानकारी दिए ।
ओझाका अनुसार मुलुकी फौजदारी कार्याविधि संहिता २०७४ को दफा १५५ मा रहेको कैद किन्ने सुविधाअनसार मन्त्री थापा, तत्कालीन माओवादीका नेता देवीलाल चौधरी लगायतका १२ जनाले कैद किनेका हुन् । ‘उहाँहरुलाई छ महिनाको कैद भएको थियो,’ ओझाले भने, ‘दिनको तीन सय रुपैयाँको दरले कैदको जरिबाना तिर्नसक्ने १५५ को सुविधा छ । त्यो रकम उहाँहरुले तिर्नुभएको छ ।’ एक वर्षसम्म कैद हुने कसुरमा पैसा तिरेर कारागार बस्न नपर्ने व्यवस्था रहेको छ ।
यसअघि कैद भुक्तानका लागि जिल्ला अदालत कञ्चनपुरले पटकपटक प्रहरीलाई लगत पठाए पनि मन्त्री थापालाई पक्राउ गर्न प्रहरीले आनाकानी गर्दै आएको थियो । अदालतले प्रहरीबाहेक अन्य स्थानीय तह र सरकारी कार्यालयलाई पनि लगत पठाउँदै कैद भुक्तान गर्न बाँकी व्यक्तिको सबै सुविधा रोक्न आदेश गर्दै आएको थियो ।
माओवादीमा हुँदा थापा ०५८ मंसिर २९ गते कञ्चनपुरको दैजीको बैतडाबाट पक्राउ परेका थिए । ०६१ भदौ २६ गते कञ्चनपुरमा जेल ब्रेक गर्दै उनी फरार भएका थिए । सोही मुद्दामा उनलाई छ महिना कैद भएको थियो । लामोसमय माओवादीबाट राजनीति गरेका थापा अहिले एमालेमा छन् । उनी एमालेबाट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १(१) बाट प्रदेशसभा सदस्यमा विजयी हुँदै कृषि मन्त्री भएका हुन् । यता मन्त्री थापा भने जेल ब्रेक द्वन्द्वकालको राजनीतिक घटना भएको बताउँदै आएका छन् ।
पछिल्लो समय सुदूरपश्चिममा फैसला कार्यान्वयनमा प्रहरीको नयाँ टोली खटिएको छ । पक्राउ पर्ने भयले मन्त्रीसहितका १२ जनाले १५५ को सुविधा लिएको चर्चा पनि छ ।
प्रतिक्रिया