कैलाली । नेकपा एमालेको सचिवालय बैठकले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा नयाँ जिल्ला इन्चार्ज तोकेको छ। संगठनलाई थप सुदृढ बनाउँदै निर्वाचन केन्द्रित गतिविधि प्रभावकारी रूपमा संयोजन गर्ने उद्देश्यले हालै नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गरिएको हो।
पार्टीको निर्णयअनुसार कैलाली जिल्लाको इन्चार्जमा लिला भण्डारी, कञ्चनपुरमा निरु पाल, डडेल्धुरामा पठान सिंह बोहरा, बैतडीमा दामोदर भण्डारी, दार्चुलामा गणेश ठगुन्ना, बझाङमा एन. महर, बाजुरामा लाल बहादुर थापा तथा अछाम जिल्लाको इन्चार्जमा झपट बोहरालाई जिम्मेवारी दिइएको छ।
जिल्ला इन्चार्जहरूले पार्टी संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन, स्थानीय तहदेखि केन्द्रसम्मको समन्वय तथा निर्वाचन तयारीलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी पाएका छन्। विशेषगरी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक गतिविधि, जनसम्पर्क र संगठनात्मक रणनीति निर्माणमा उनीहरूको भूमिका महत्वपूर्ण रहने बताइएको छ।
यस सन्दर्भमा नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले संगठनात्मक निर्णय समयसापेक्ष र रणनीतिक भएको बताएका छन्। “आसन्न प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राख्दै पार्टीको संगठनलाई जिल्लास्तरमा अझै मजबुत बनाउने उद्देश्यले जिल्ला इन्चार्ज तोकिएको हो,” उपमहासचिव भट्टले भने, “जिल्ला इन्चार्जमार्फत पार्टीका नीति, कार्यक्रम र राजनीतिक सन्देशलाई जनतासम्म प्रभावकारी रूपमा पुर्याउने अपेक्षा गरिएको छ।”
सचिवालय बैठकको यस निर्णयले सुदूरपश्चिम प्रदेशमा पार्टी संगठनलाई थप क्रियाशील बनाउँदै आगामी निर्वाचनमा एकताबद्ध र सशक्त रूपमा अघि बढ्न सहयोग पुग्ने एमालेले विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया