धनगढी । विशेष अदालतले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष, वडाध्यक्ष र कर्मचारीसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
सिम्लका घट्ट सिँचाइ कुलो निर्माणमा नक्कली कागजात तयार पारी भ्रष्टाचार गरेको अभियोगमा उनीहरूलाई कैद र जरिवानाको सजाय सुनाइएको हो । न्यायाधीश तेजनारायण सिंह र रामबहादुर थापाबीच राय बाझिएपछि आइतबार विशेष अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा पेश भएको थियो ।
तेजनारायण सिंहले ६ जनालाई दोषी ठहर गर्ने रायमा न्यायाधीश श्रेष्ठले समर्थन गरेसँगै खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकाया, वडा नं. ४ का वडा अध्यक्ष भिमबहादुर रोकाया, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, इन्जिनियर सुरेन्द्रबहादुर खाती, असिस्टेन्ट सबइन्जिनियर जनक थापा मगर र उपभोक्ता समितिका अध्यक्ष शमशेर रोकाया दोषी ठहर भएका हुन् ।
विशेष अदालतले दोषी ठहरिएका ६ जनालाई नै जनही ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।
प्रतिक्रिया