धनगढी । धनगढीमा रहेको चैतन्य पाठशालाले विद्यार्थी महोत्सव सञ्चालन गर्ने भएको छ । विद्यालयले आज पत्रकार सम्मेलन गरेर यही पुस २२ देखि २९ गतेसम्म विद्यार्थी महोत्सव सञ्चाल गर्न लागिएको जानकारी दिएको छ । चैतन्यले गर्न लागेको यो दोस्रो विद्यार्थी महोत्सव हो ।
विद्यार्थीमा अन्तर्निहित प्रतिभा उजागर गर्नुका साथै सिर्जनशीलता, नेतृत्व क्षमता, सामाजिक चेतना, अन्वेषणशील सोँच र आत्मविश्वास विकास गर्ने उद्देश्यले विद्यार्थी महोत्सव गर्न लागिएको चैतन्य पाठशालाका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले जानकारी दिए । यो महोत्सवले विद्यार्थीलाई कक्षाकोठाभित्र सीमित नभइ व्यावहारिक, जीवनोपयोगी र मूल्यपरक सिकाइको अनुभव प्रदान गर्ने विश्वास लिइएको उनले बताए ।
चैतन्यले विद्यार्थीको अन्तर्निहित प्रतिभाको पहिचान, विकास र प्रोत्साहन बौद्धिक, सृजनात्मक, सांस्कृतिक तथा व्यावहारिक सीप विकास, आत्मविश्वास, नेतृत्व क्षमता, संस्कार, मूल्य र नैतिक शिक्षालाई व्यवहारसँग जोड्दै जीवनोपयोगी शिक्षा दिँदै आएको जोशीले बताए ।
यहाँका विद्यालयमा अध्ययनरत विद्यार्थीको सहभागिता रहने विद्यार्थी महोत्सवमा शैक्षिक, सांस्कृतिक, साहित्यिक तथा रचनात्मक गतिविधिहरू समेटिने चैतन्य पाठशालाका प्रधानाध्याक प्रेमनिधि ओझाले जानकारी दिए । विद्यार्थीले बनाएका नमुना हवाइजहाजका उडान परीक्षण, ड्रोन उडान, विज्ञान, अन्वेषण तथा प्रविधि प्रदर्शनीसमेत महोत्सवमा प्रदर्शन गरिने चैतन्यले जनाएको छ ।
अन्तरविद्यालय प्रतियोगिताहरु, योग तथा ध्यान कार्यक्रम, खेलकुद, रक्तदान, स्थानीय परिकार प्रदर्शनीलगायत मनोरञ्जनात्मक कार्यक्रमहरु समेत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्राज्ञिक बहस, मौलिक तथा सांस्कृतिक प्रस्तुति, पुस्तक समीक्षा, कविता वाचन, माघी मिलन विशेष कार्यक्रम, चित्रकला तथा हस्तकला प्रतियोगिताहरु पनि गरिने प्रधानाध्यापक ओझाले जानकारी दिएका छन् ।
महोत्सवबाट विद्यार्थीमा आत्मअनुशासन, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना बलियो हुने, सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने अवसर प्राप्त हुने तथा विद्यालय–समुदायबीच दीर्घकालीन सहकार्यको आधार निर्माण हुने चैतन्यले जनाएको छ ।
प्रतिक्रिया