धनगढी । नेकपा एमालेले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न लेखराज भट्टको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकले एमाले उपमहासचिव भट्टको नाम एकल रुपमा सिफारिस गर्ने निर्णय गरेको हो ।
भट्ट विगतदेखि नै सोही क्षेत्रबाट निर्वाचन लड्दै आएका छन् । २०६४ सालमा माओवादीबाट विजयी भएका भट्ट ०७० सालमा कांग्रेसका दीर्घराज भाटसंग पराजित भएका थिए । २०७४ सालमा माओवादीबाटै विजयी भएका भट्ट २०७९ सालमा भने एमालेबाट चुनाव लडेका थिए । उक्त चुनावमा कांग्रेसका बीरबहादुर बलायरले भट्टलाई पराजित गरेका थिए ।
सो क्षेत्रबाट कांग्रेसले बलायरसहित नैनसिंह महर लगायतका नेताको नाम सिफारिस गरेको छ । नेपाली कम्युनिस्ट पार्टीले भने हरिराम चौधरी उत्सव, दीर्घ सोडारी, उद्धव भट्टराई, कृष्णराज सुवेदी, मीनराज बडू, लक्ष्मण कुँवर, लक्षीराम आचार्य, बमबहादुर विक र चुनकुमारी चौधरीको नाम सिफारिस गरेको छ ।
प्रतिक्रिया