ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूर पहाडका तीन जिल्ला जोड्ने सडक एक महिनासम्म दैनिक ६ घण्टा बन्द रहने

शुक्रबार १८, पुष २०८२ ०१:०९

धनगढी । सुदूरपश्चिमका तीन जिल्ला जोड्ने सडकमा एक महिनासम्म दैनिक ६ घण्टा आवागमन बन्द हुने भएको छ । पहाडी जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मध्यपहाडी राजमार्ग (साविक महाकाली राजमार्ग) को स्याउले–अनारखोली खण्ड निर्माण गर्ने प्रयोजनका लागि सवारी आवागमन बन्द गरिने भएको हो ।

स्याउले–अनारखोली खण्ड डडेल्धुरा जिल्लाम पर्छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सूचना जारी गर्दै शनिबारदेखि माघ १९ गतेसम्म दैनिक छ घण्टा राजमार्गमा सवारी आवागमन बन्द रहने जानकारी दिएको छ । 

प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म आवागमन बन्द रहने सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले जानकारी दिए । मध्यपहाडी राजमार्गको खसरेखान क्षेत्र तथा पोखरा–बेलापुर सडकमा आवागमन बन्द रहने वलीले बताए ।

सडक डिभिजन कार्यालय डोटीका अनुसार खसरेखान क्षेत्रमा सडक विस्तारको ठेक्का छ । ‘रक कटिङ गर्नुपर्ने भएका कारण आवागमन बन्द गरिदिन स्थानीय प्रशासनलाई अनुरोध गरेका थियौं,’ डिभिजन कार्यालयका प्रमुख रमेश भट्टराईले भने, ‘सडक सुधार तथा चौडा गर्नका लागि उक्त खण्डमा साढे चार अर्बको ठेक्का लागेको छ ।’

प्रतिक्रिया