धनगढी । वैकल्पिक राजनीतिमा नेतृत्वदायी भूमिका निभाउने बताउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्राथमितकतामा सुदूरपश्चिम प्रदेश नपरेको गुनासो बढेको छ । रास्वपाले समानुपातिक बन्दसूची बुझाउँदा सुदूरपश्चिम प्रदेशलाई हेपिएको गुनासो बढेको हो । रास्वपाले बुझाएको सूचीमा स्थायी ठेगाना सुदूरपश्चिम उल्लेख गरिएका दुई जना मात्रै छन् । दुबै जनाको ठेगाना कञ्चपुर लेखिएको छ ।
रास्वपाले कञ्चनपुरबाट खसआर्य महिलाको पहिलो नम्बरमा प्रतिभा रावल तथा थारु पुरुष क्लस्टरबाट कञ्चनपुरकै सोमप्रसाद चौधरीलाई उम्मेदवार बनाइएको छ । यता रास्वपा सुदूरपश्चिमका सभापति प्रकाश बिष्ट भने सुदूरपश्चिमका पाँच जना बन्दसूचीमा परेको बताउँछन् । उनका अनुसार रावल र चौधरीसंगै टीका संगौला (ज्वाला), अनुपकुमार उपाध्याय, करिस्मा कठरिया र गीता चौधरीको घर पनि सुदूरपश्चिम हो । तर, रास्वपाले बुझाएको बन्दसूचीमा रावल र चौधरीबाहेक कसैको पनि स्थायी ठेगाना सुदूरपश्चिमका जिल्लामा छैन । रास्वपा सुदूरपश्चिमले भने ज्वालालाई अछाम, गीता चौधरीलाई कञ्चनपुर तथा करिस्मा कठरियालाई कैलालीबाट समानुपातिक सांसदमा सिफारिस गरेको थियो ।
बन्दसूचीमा परेका ११० जनामध्ये सुदूरपश्चिमको भागमा दुई–चार जना मात्रै परेको भन्दै रास्वपाको प्राथमिकतामा सुदूरपश्चिम नपरेको गुनासो गरिएको हो । धनगढीका नागरिक अगुवा विकास पाठकले भनेका छन्, ‘हाम्रो सुदूरपश्चिम त्यो पूर्वको नजरमा सधँै टाढा नै छ भन्ने एउटा उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवार सूची पनि हो । त्यसैले हामी सुदूरपश्चिमबासीले बालेन साह र रवि लामिछानेबाट खासै आश गर्नु व्यर्थ हो ।’ रास्वपा सुदूरपश्चिमले समानुपातिकका लागि ३० जनाको नाम सिफारिस गरेको थियो । तर, केन्द्रल् न्यायीक हिस्सा नदिएको भन्दै रास्वपा सुदूरपश्चिमका नेताहरु पनि रुष्ट छन् ।
‘११० जनामा ४–५ जना मात्रै सुदूरपश्चिमको भागमा परेका छन्,’ रास्वपा सुदूरपश्चिमका एक नेताले भने, ‘ती ४–५ जना पनि सुदूरपश्चिमलाई केन्द्र बनाएर राजनीति गर्ने होइनन् । अधिकांशको बसाइँ राजधानीमै हुन्छ । समानुपातिक सूचीले नै रास्वपाको प्राथमिकतामा सुदूरपश्चिम छैन भन्ने देखाएको छ ।’ यता रास्वपा सुदूरपश्चिमका सभापति बिष्टले भने सूची अद्यावधिको समय बाँकी रहेकोले सच्याउन आग्रह गरिरहेको बताए ।
प्रतिक्रिया