धनगढी । वैकल्पिक राजनीतिको चर्चा चलिरहँदा त्यो बहसमै सामेल छैनन्, सुदूरपश्चिमको एकमात्र उपमहानगर धनगढीका मेयर गोपाल हमाल (गोपी) । उनी न त नयाँ दल गठन वा प्रवेशमा लागेका छन्, न त उनले पुराना दल नै रोजेका छन् । तर, नेतालाई भोट दिँदा विवेक प्रयोग गर्न भने सुदूरपश्चिमका मतदातालाई मेयर हमालले आह्वान गरेका छन् । ‘चुनावको कुरा आइरहेको छ, नेताहरु आउँलान,’ सुदूरपश्चिमको मौलिक पर्व पुसे पच्ध्रको शुभकामना दिँदै हमालले भनेका छन्, ‘घरदैलोमा पुग्ने नेता र दलसंग गरिबी घटाउने रोडम्याप माग्नुस् ।
हमालका अनुसार सन् २०१९ को तथ्यांकअनुसार सबैभन्दा बढी गरिबीको रेखामुनी कर्णाली प्रदेश थियो भने पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी गरिबीको रेखामुनि सुदूरपश्चिम रहेको छ । ‘सन् २०१९ को तथ्यांकनुसार कर्णाली प्रदेश ३९.५० प्रतिशत गरिबी रेखामुनि थियो र अहिले घटेर २६.६९ प्रतिशतमा छ,’ हमालले भने, ‘तर सुदूरपश्चिम प्रदेशमा सन् २०१९ को तथ्यांकअनुसार गरिबी २५.३० प्रतिशत थियो भने अहिले झन् बढेर ३४.१६ प्रतिशत पुगेको छ । अब आम सुदूरपश्चिमवासीले नेतृत्वमा जान घरदैलो सम्म आउने व्यक्तिलाई सुदूरपश्चिमको गरिबी हटाउन योजना एवम् रोडम्याप मागेर मात्र विवेक प्रयोग गर्न हुन अनुरोध गर्दछु ।’
हमालले प्रदेशको गरिबी घटाउने बहस हरेक क्षेत्रमा प्रवेश गर्न आवश्यक रहेको बताए । ‘गरिबी बढ्नुको जिम्मेवार को हो भन्नेतिर नजाउँ,’ उनी भन्छन्, ‘दल र नेतालाई तपाइँ सत्तामा आएपछि गरिबी कसरी घट्छ ? भनेर रोडम्याप मागौं । जसको रोडम्याप उपयुक्त छ, उसलाई छनोट गरौं ।’
प्रतिक्रिया