ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डीडीसीको अत्तरियास्थित उद्योगमा तालाबन्दी

मङ्गलबार १५, पुष २०८२ ०७:१६

धनगढी । दुग्ध विकास संस्थान (डीडीसी)ले अत्तरियाबाट उद्योग सार्न थालेपछि स्थानीय बासिन्दाले उद्योगमै तालाबन्दी गरेका छन् ।

डीडीसीले सोमबार अत्तरियाबाट धनगढी–१५, कनरीमा उद्योग सार्न थालेपछि स्थानीयले डीडीसीको उद्योगमा तालाबन्दी गरी उद्योग सार्न रोकेका हुन् । उद्योगमा तालाबन्दी गरिएपछि आज मंगलबारदेखि डीडीसीको दुग्ध उत्पादन बजारमा जान नसक्ने भएको छ । ‘मेसिन धनगढी ल्याएर आजै जडान गरी भोलिदेखि नै धनगढीबाट बजारमा उत्पादन पठाउने योजना थियो,’ भट्टराईले भने, ‘तर, तालाबन्दी भएपछि भोलिदेखि बजारमा उत्पादन पठाउन नसकिने भएको छ ।’

अत्तरियास्थित कार्यालय शुक्रबारदेखि आइतबारसम्म सारेपछि सोमबार उद्योग सार्न लाग्दा स्थानीयले अवरोध गरेको डीडीसीका अत्तरिया कार्यालयका प्रमुख निरञ्जन भट्टराईले बताए । ‘क्रेनले ट्रकमा मेसिन लोड गरिरहेका थियौं,’ उनले भने, ‘एउटा मेसिन लोड भइसकेको थियो । त्यही बेला आएका स्थानीयले उद्योगमा तालाबन्दी गरे ।’

गतजेठ ८ गते उद्योग धनगढी सार्न थालेको भन्दै कार्यालयमा तालाबन्दी गरिएपछि चार महिनापछि अत्तरियामै तत्काललाई कार्यालय र उद्योग सञ्चालन गर्ने तथा स्थानीय तहले डीडीसीको कार्यालय र उद्योगका लागि जमीन खोज्ने सर्तमा ताला खोलिएको थियो । तर, लामो सयमसम्म प्रयास गर्दा पनि जमीन नमिलेको भन्दै डीडीसीले जमीन नपाइएको भन्दै पहिले नै धनगढी उपमहानगरपालिकासंग भएको सम्झौता बमोजिम धनगढी सार्न लागेको थियो ।

नगरपालिका र वडा कार्यालयले डीडीसीसंग उपयुक्त समन्वय नगरेको भन्दै स्थानीयले गोदावरी नगरपालिका वडा नं. १ को कार्यालयमा समेत तालाबन्दी गरेका छन् । वडाध्यक्ष गोपाल भट्टले स्थानीयले डीडीसीको उद्योग सार्नबाट रोक्न गरेको आन्दोलन प्रति एक्यबद्धता जनाएपनि स्थानीयले वडा कार्यालयमा लगाएको तालाबन्दी खोलेका छैनन् ।

स्थानीयले तालाबन्दी गरेपछि सो समस्याको समाधान गर्न जिल्ला प्रशासन कार्यालय कैलाली, डीडीसी केन्द्रीय कार्यालय र गोदावरी नगरपालिकालाई जानकारी गराएको भट्टराईले बताए । उनले तत्काल उद्योग सञ्चालन हुन नसकेपछि किसानले उत्पादन गरेका दुध र डीडीसीले खरिद गरिसकेको दुध खेर जाने बताए ।

डीडीसीले धनगढी–१५ कनरीस्थित जडीबुटी प्रशोधन उद्योगको गोदाममा कारखाना र कार्यालय सञ्चालनका लागि वार्षिक आठ लाख रुपैयाँमा धनगढी उपमहानगरपालिकासंग भाडा सम्झौता गरेको छ । सो सम्झौतापछि डीडीसीले उद्योगका लागि आवश्यक संरचना समेत निर्माण गरिसकेको छ । ‘हामीले लामो सयमसम्म अत्तरियामा जमीन खोज्दा नमिलेपछि विकल्पको रुपमा धनगढी रोजेको हो,’ भट्टराईले भने, ‘धनगढीमा सस्तो भाडादरमा भवनसहित ठाउँ मिलेको छ ।’

अत्तरियामा २०६७ सालमा स्थापना संस्थानको दुग्ध विकास आयोजना कार्यालय र कारखाना कृषि थोक बजारको सटर छ । संस्थानले थोक बजार व्यवस्थापन समितिलाई मासिक ३८ हजार छ सय रुपैयाँ भाडा तिर्दै आएको छ । कैलाली, कञ्चनपुर र डडेल्धुराको आलिताल क्षेत्रबाट दैनिक चार हजारदेखि सात हजार लिटर दुध संकलन गर्दै आएको छ । 

सो कारखानाबाट संस्थानले तयारी दुध, दहि, मही, घ्यू, लस्सी, पनिर, आइसक्रिम लगायत उत्पादन गरी गर्दै आफ्नो विक्री केन्द्रहरुबाट मार्फत् विक्री गर्दै आएको छ । सो कारखानामा दैनिक तीन सय लिटर दुध खपत भइरहेको भट्टराइले जनाए । बाँकी दुध कार्यालयले हेटौडा र पोखरास्थित दुग्ध विकास आयोजना कार्यालयमा पठाउने गरेको छ ।

प्रतिक्रिया