धनगढी । आपसी मतभेदका कारण अलग–अलग पार्टी खोलेका रेसम चौधरी दम्पतीबिच फेरि राजनीतिक मिलाप हुने भएको छ । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र पत्नी रञ्जिता श्रेष्ठको नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबिच एकता हुने भएको हो ।
पत्नी नेतृत्वको पार्टी छाडेर तीन महिनाअघि मात्रै रेसमले नागरिक उन्मुक्ति पार्टी नेपाल खोलेका थिए । पत्नी रञ्जितासँग सम्बन्ध बिग्रिदै गएपछि रेसमले भदौ २९ गते कविर सोबको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी नेपाल नाम दिएर नयाँ दल खोलेका थिए । उक्त दलको संरक्षकमा आफू बसेका थिए ।
ितीन महिनापछि अहिले आएर पुनः दुवै दल एक ठाउँमा आउने भएका छन् । दुवै दलबिच शनिबार एकता तय भएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिताले जानकारी दिइन् । ‘मैले नै पहलकदमी गरेँ । मिल्नै प¥यो’ रञ्जिताले भनिन्, ‘शनिवार पार्टी एकता हुन्छ ।’
कविर सोब नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालले यसअघि नै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग चुनावी गठबन्धनको सहमति गरेर एउटै चुनाव चिह्नमा निर्वाचनमा भाग लिने निर्णय गरेको थियो । अब रेशम चौधरीको पार्टीसँग एकता भएपछि त्यसबारे के हुन्छ अझै खुलिसकेको छैन ।
प्रतिक्रिया