धनगढी । गोदावरी नगरपालिका–९, चौकीडाँडाका अजय टमटाले १२ पास गरेपछि पढाइलाई निरन्तरता दिन सकेनन् । घरमा बेरोजगार बसेका उनी चार वर्षअघि रोजगारको खोजीमा भारत पुगे । पञ्जाबको एक होटेलमा छ/सात महिना भाडा माझ्ने काम गरेका उनलाई त्यो काम मन परेन ।
चौकीडाँडामा बुवाले चलाउने सानो होटेलमा सघाउने भनेर घर फर्किएका उनी झुप्रोमा रहेको होटेललाई केही व्यवस्थित गर्न चाहन्थे । तर उनीसँग लगानी थिएन । गाउँमै रहेको मालाखेती बहुउद्देश्यीय सहकारीले स्वरोजगार बन्न चाहनेलाई सुदूरपश्चिम प्रदेश सरकारको स्वरोजगार विकास कोषबाट सहुलियतपूर्ण ब्याजमा ऋण प्रवाह गर्न थालेपछि टमटा सहकारीमा पुगे ।
तीन वर्षअघि सहकारीबाट न्यून ब्याजमा तीन लाख ऋण लिएर उनले आफ्नो पूर्णिमा होटेलमा टेबुलकुर्सी व्यवस्थापन गर्नुका साथै होटेल अगाडि पूर्णिमा मासु पसल सुरु गरे । मासु पसलबाट मात्रै अहिले दैनिक ८–१० किलोसम्म मासु बिक्री गर्छन् ।
‘आफूसँग लगानी थिएन । सहकारीबाट सहुलियतपूर्ण ऋण पाएपछि व्यवसाय विस्तार गर्न सजिलो भयो’ टमटाले भने, ‘व्यवसायबाट आम्दानी हुन थालेपछि घर खर्च चलाउन सहज भएको छ । सहकारीको किस्ता पनि नियमित तिरिरहेको छु ।’ गाउँमै व्यवसाय गरेर स्वरोजगार बनेका उनी अब रोजगारीका लागि भारत जाने मनस्थितिमा छैनन् ।
मालाखेती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक लालबहादुर खड्काका अनुसार सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषअन्तर्गत सहकारीले गाउँमा ३० जनालाई ८० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण प्रवाह गरेको छ । ऋण लिएकाहरु होटेल, व्यवसाय, तरकारी खेती, कुखुरा पालन, बाख्रापालनजस्ता व्यवसाय गरेर स्वरोजगार बनेका उनले बताए ।
‘खासगरी आफै केही गर्न चाहने विपन्नलाई यो ऋण प्रवाह गरेका छौँ । सहुलियतपूर्ण ऋण लिएर गाउँमै केही गरिरहेकामध्ये १०–१२ जना भारतबाट फर्केकाहरु छन्’ व्यवस्थापक खड्काले भने, ‘ऋणको किस्ता पनि नियमित आइरहेको छ ।’ केही गरेर स्वरोजगार बन्न चाहने विपन्नलाई सहकारीले विनाधितो ऋण प्रवाह गरेको हो ।
लामो समय भारतको पञ्जाबमा मोबाइल सर्भिस सेन्टरमा काम गरेर स्वदेश फर्किएका डोटीको केआइसिं गाउँपालिका–२, का महेन्द्र विश्वकर्माले गोदावरी नगरपालिकाको अत्तरिया बजारमा पाँच वर्षअघि जेएमडी मोबाइल पसल सुरु गरे । थोरै लगानीमा पसल सुरु गरेका उनलाई मोबाइल र मर्मतका सामान थप्नुपर्ने भयो । तर उनीसँग लगानी थिएन ।
लगानीको समस्या भोगिरहेका बेला विश्वकर्माले आफ्नो पसल नजिकै कार्यालय रहेको किसान कृषि सहकारी संस्था लिमिटेडले प्रदेश सरकारको कोषबाट सहुलियतपूर्ण ऋण प्रवाह गरिरहेको थाहा पाए । सहकारीले उनलाई विनाधितो डेढ लाख रुपैयाँ सहुलियतपूर्ण ऋण दियो । ‘त्यो पैसाले मोबाइलका सामान थपेँ, अहिले व्यवसाय ठीकै चलिरहेको छ’ उनले भने । सामान्य रोजगारीका लागि भारत जानु नपरेकोमा उनी खुशी छन् ।
विश्वकर्माले व्यवसाय विस्तारकै लागि किसान कृषि सहकारीबाट स्वरोजगार कोषको बाहेक ऋणसमेत लिएको बताए । यो सहकारीले पनि पाँच प्रतिशत व्याजदरमा स्वरोजगार कोषको ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । किसान सहकारीका अध्यक्ष सुनाकुमारी रोकायाले स्वरोजगार कोषको ऋण प्रवाहबाट सहकारीका सदस्य लाभान्वित भएको बताइन् ।
३५ जना सदस्य सस्तो ब्याजमा ऋण लिएर व्यापारव्यवसायमार्फत आत्मनिर्भर बनेको उनले बताइन् । ऋण प्रवाह गर्न पाउँदा सहकारीको संस्थागत विकासमा टेवा पुग्नुका साथै सदस्यहरुमा सहकारीप्रति अपनत्व बढेको रोकायाको भनाइ छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११, कलुवापुरस्थित एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि स्वरोजगार विकास कोषको करिब ८० लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ । विपन्न सदस्यलाई ५० हजारदेखि अधिकतम तीन लाख रुपैयाँसम्म कर्जा प्रदान गरिएको अध्यक्ष उत्तरदेव भट्टले जानकारी दिए ।
‘हामीजस्तो ससानो व्यवसाय गर्नेका लागि सहुलियतपूर्ण ऋणले व्यवसाय विस्तारमा सहयोग पुगेको छ’ उक्त सहकारीका सदस्य बीरबहादुर बिष्टले भने, ‘धितो पनि नचाहिने भएकाले ऋण लिन पनि सहज छ ।’ कलुवापुरमा किराना तथा तरकारी पसल सञ्चालन गरिरहेका उनले एकता सहकारीबाट स्वरोजगार कोषको एक लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लिएका छन् ।
नियमित अध्ययन छोडेका शैक्षिक बेरोजगार, वैदेशिक रोजगारबाट फर्किएका युवायुवती, कुनै तालिम प्राप्त गरेका तर लगानीको अभावमा बेरोजगार बसेका, द्वन्द्वपीडित, अपाङ्गता भएका व्यक्ति, आर्थिक तथा सामाजिकरुपले पिछडिएका र गरिबीको रेखामुनि रहेकाहरुलाई सहुलियतपूर्ण कर्जा दिएर आत्मनिर्भर बनाउने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारले स्वरोजगार विकास कोष स्थापना गरेको हो ।
कोषका कार्यकारी निर्देशक चुडामणी तिमिल्सिनाले सुदूरपश्चिमका ९९ वटा सहकारीमार्फत ३७ वटा पालिकामा कोषले करिब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेको जानकारी दिए । तत्कालीन सरकारले २०७५ मै कोष स्थापना गरे पनि कोषले २०७९ सालमा कर्जा प्रवाह सुरु गरेको हो । लगानीको अभाव रहेको जनशक्तिलाई उत्पादनमा जोडेर स्वरोजगार र आत्मनिर्भर बनाउने कोषको उद्देश्य रहेको कार्यकारी निर्देशक तिमित्सिनाले बताए ।
प्रतिक्रिया