धनगढी । राष्ट्रियसभा निर्वाचन आगामी ११ माघमा हुँदैछ । निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार १९ पुस बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन र उजुरीमाथि छानबिन गरी २२ पुस दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।
२३ पुस बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ । २४ पुस बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २७ पुसमा नाम फिर्ताका लागि उम्मेदवारलाई समय दिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । २८ पुसमा उम्मेदवारले निर्वाचन चिह्न सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट पाउनेछन् ।
११ माघ बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । निर्वाचनमा सुदूरपश्चिमबाट दुई जना सदस्य चयन हुनेछन् । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले प्रदेशगत मतभार पनि सार्वजनिक गरिसकेको छ । निर्धारण गरेको मतभारअनुसार सुदूरपश्चिम प्रदेशमा ६ हजार १५३ मतभार छ ।
निर्वाचनमा प्रदेश सभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुखहरू र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहन्छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख–उपप्रमुखको मतभार १९ रहेको छ ।
यसअनुसार सुदूरपश्चिम प्रदेशमा कांग्रेस एक्लै बलियो छ । सुदूरपश्चिममा ५३ प्रदेशसभा सदस्य छन् । ८८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख छन् । प्रदेशसभामा कांग्रेस १८ सिटसहित ठुलो दल छ । माओवादी केन्द्र ११, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र एक–एक जना प्रदेशसभा सदस्य छन् । स्थानीय तहतर्फ कांग्रेसबाट प्रमुख ४० र ४६ उपप्रमुख छन् । एमालेले प्रमुख र उपप्रमुख गरेर ५० तथा माओवादी केन्द्रको २४ रहेको छ ।
सुदूरपश्चिम प्रदेशको मतभारमा कांग्रेस ठुलो दल छ । एमाले दोस्रो, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी तेस्रोमा छ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा ठूला तीन दलबीच एक्ला एक्लै प्रतिस्पर्धा हुने हो भने कांग्रेस अगाडि छ ।
कांग्रेसको मतभार दुई हजार ५८८ रहेको छ भने एमालेको एक हजार पाँच सय ३३ छ । नेपाली कम्युनिस्ट पार्टीको एक हजार ३६५ छ । यस्तै नाउपाको ५०४, राप्रपाको ५३ र स्वतन्त्रको ११० मतभार रहेको छ ।
प्रतिक्रिया