धनगढी । वन्यजन्तुको आक्रमणमा जिउँधनको सबैभन्दा बढी क्षति हुने जिल्लामध्येमा पर्छ, कञ्चनपुर । पछिल्लो ६ वर्षको अवधिमा मात्रै जिल्लामा १५ जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाइसकेका छन् । डिभिजन वन कार्यालयका अनुसार कतिपयको घरमै सुतिरहेको समयममा हात्तीले आक्रमण गर्दा ज्यान गएको छ भने कतिपय घटना हात्ती भगाउने क्रममा पनि भएका छन् ।
यो अवधिमा कयौंपटक किसानले लगाएको अन्नबाली पनि वन्यजन्तुले नष्ट गरिदिएका छन् । अढाइ महिनाअघि मात्रै कञ्चनपुरका विभिन्न क्षेत्रमा पाक्नै लागेको धानखेती र उखु बालीमा हात्तीको बथान छिरेर नष्ट ग¥यो । जिल्लाको बेलडाँडीमा हात्तीले पक्की घर, मन्दिर, भान्सा, शौचालय र धानबाली नष्ट गरिदिएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले जोगी दमाईंको पक्की घर, जय दमाईं, नवीन दमाईं, प्रदेशी सार्की, भन्सा र नवीन ओखेडाको गोठसहित मन्दिर भत्काइदिएको थियो ।
बेलौरी नगरपालिका– ९ कुण्डाका कर्णबहादुर कुँवर, गौरी चन्द, पुनाराम चौधरी, जयराम चौधरी, खुसीराम चौधरी, बुद्धिराम चौधरी, बिन्तीराम चौधरी, राजकुमार चौधरीको उखु र धानबाली नष्ट गरिदिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार त्यो समयमा हात्ती पुगिरहेको क्षेत्रमा प्रहरीसहितको अन्य जनशक्ति खटाइएको थियो । ‘प्रहरी टोली परिचालन हुँदा थप क्षति हुनबाट जोगिएको थियो,’ उनले भने, ‘तर, कञ्चनपुर जिल्लामा हात्तीबाट जोखिम कायमै छ ।’
कञ्चपुरमा हात्तीले धान बालीमा क्षति गरेको त्यो पहिलो घटना भने होइन । बर्सेनि हात्तिको बथानले पाक्नै लागेको धानखेती नष्ट गर्दै आएको छ । ‘एक दशक हुनै लागेको छ, हामीले धान राम्ररी भित्र्याउनसमेत सकेका छैनौं,’ बेलौरीका मुकेश भट्टले भने, ‘जहिल्यै पनि पाक्नै लाग्दा धानखेतीमा हात्तीको बथान आउने गरेको छ । बर्सेनि धानखेती हात्तीकै लागि गरेको जस्तो हुन थालेको छ ।’
कञ्चनपुरका किसानहरुका अनुसार कहिल्यै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज त कहिले भारतको दुधुवा नेशनल पार्कबाट आउने हात्तीको बथानले अन्नबालीमा क्षति पुगाउने गरेको छ । ‘खेतबारीमा खाने कुरा नपाए हात्तीको बथान नै बस्तीमा पस्ने गरेको छ,’ कञ्चनपुरकै भुलिया रानाले भने, ‘हात्तीबाट अन्नपात मात्रै होइन आफूलाई जोगाउन पनि मुस्किल हुन थालेको छ ।’ कञ्चनपुरको एक सय ३० किलोमिटर क्षेत्र भारतसंग जोडिएको छ । नेपाल–भारतका नागरिक जस्तै वन्यजन्तु पनि दुबै देशमा बेलाबेला आउजाउ गर्ने गरेका छन् । सो समयमा वन्यजन्तुको बाटोमा पर्ने भौतिक संरचना र खेतबारीमा वन्यजन्तुले क्षति पुगाउँदै आएका छन् ।
हात्ती भगाउन असफल हुन्छन् स्थानीय
कञ्चनपुरमा हात्तीको आक्रमणबाट जिउँधनको सबैभन्दा बढी क्षति हुने पालिकामध्येमा पर्छ शुक्लाफाँटा नगरपालिका । हात्ती भगाउनका लागि त्यहाँका बासिन्दा रातभर जाग्राम नै बस्ने गरेका छन् । विगतमा साइरन बजाउँदा, उज्यालो देखाउँदा, पटाका पड्काउँदा हात्ती भाग्ने गरेको अनुभव छ, शुक्लाफाँटा नगरपालिकाकै इन्द्र जोशीको छ ।
तर, पछिल्ला केही वर्षदेखि पनि ती तरिका पनि असफल हुँदै गएका छन् । ‘अहिले हात्ती धपाउनका लागि जत्ति नै जुक्ति लगाए पनि भाग्दैनन्,’ उनले भने । कञ्चनपुरमा बेलाबेला हात्ती भगाउनका लागि सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । तर, कतिपय समयममा किसान, प्रहरी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले पनि हात्तीको बथान भगाउन सकेका छैनन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकका बस्तीमा हरेक वर्ष हात्तीको बथानले ठुलो क्षति पु¥याउँदै आएको छ । ‘अन्नबाली लगाइएको खेतमा मात्रै नभई पछिल्लो समयमा त हात्ती सडकसमेत हिँड्न थालेका छन्,’ शुक्लाफाँटाकै स्थानीय रोशन बिष्टले भने ।
यसरी बच्न सकिन्छ हात्तीबाट
डिभिजन वन कार्यालयका अनुसार हात्तीको आक्रमणबाट जिउँधनको क्षति रोक्नका लागि जनचेता सबैभन्दा बढी आवश्यक छ । कार्यालयका प्रमुख सुरेशचन्द्र डिसी भन्छन्, ‘हात्तीले आतंक मच्चायो भन्ने सोचाई नै गलत छ । उ मानिसलाई आक्रमण गर्न नभई खाना खानका लागि मानव बस्तीमा आउनेगर्छ । आतंक मच्चाउनका लागि होइन बुझन आवश्यक छ ।’ डिसीका अनुसार हात्तीले बसाइँ सर्दा अथवा खानाको खोजी गर्दा सधैं एउटै बाटो प्रयोग गर्दै आएको छ । ‘पुर्खाले जुन बाटो प्रयोग गर्दै आएका थिए त्यही बाटो भएर हात्तीले बसाइँसराई अथवा खानाको खोजी गर्ने गरेका छन्,’ डिसीले भने, ‘हात्तीबाट जिउँधनको क्षति रोक्ने हो भने सबैभन्दा पहिले हात्तीको पुर्खेउली बाटोमा कुनै पनि अवरोध खडा गर्नुहुन्न । निर्वाध रुपमा हात्तले आउजाउ गर्ने वातावरण बनाउनुपर्छ ।’
जंगली खानेकुरा मानिसले नचलाउनु पनि हात्तीलाई खेतबाली र बस्तीमा छिर्न नदिने अर्को उपाय भएको डिसी बताउँछन् । ‘हात्तीलाई मन पर्ने खानेकुरा जंगलमा छ भने हामीले चलाउन हुँदैन,’ उनले भने, ‘बरु जंगलमा हात्तीलाई मन पराउने कुरा लगाइदिनु पर्छ । यदी मानव बस्तीमा हात्ती पुग्ने अवस्था छ भने सबैले घरको आगनमा थोरैथोरी अन्न मात्रै राखिदिए हात्ती घरभित्र छिर्दैन ।’ अन्नपात राखेको ठाउँमा नसुत्दा पनि हात्तीको आक्रमणबाट बच्न सकिने संरक्षणकर्मी बताउँछन् । ‘हात्तीको सुघ्ने शक्ती निकै बढी हुन्छ,’ डिसी भन्छन्, ‘मदिरा हात्तीले मन पराउने खानेकुरामा पर्छ । त्यसैले प्रभावित क्षेत्रमा मदिरा घरभित्र राख्नै हुँदैन । मदिरा सेवन गरेको व्यक्तिले हात्ती भगाउन पनि जानुहुन्न ।’
प्रतिक्रिया