ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलाको छाङरुमा सौर्य ऊर्जाबाट बल्यो बिजुली, साइपालमा अन्तिम चरणमा

आइतबार ०६, पुष २०८२ ०९:१३

धनगढी । दार्चुलाको ब्यास गाउँपालिका वडा नं. १ छाङरुमा सौर्य ऊर्जाबाट विद्युत आपूर्ति गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोग र स्थानीय उपभोक्ताको श्रमदानबाट बनेको ५३ किलोवाट क्षमताको सौर्य मिनि ग्रिडबाट ११२ घरधुरी, तीन व्यवसायिक फर्म र चार सरकारी कार्यालयलाई विद्युत सेवा पुगेको हो ।

छाङरुका वडाध्यक्ष अशोकसिंह बोहराका अनुसार सौर्य मिनि ग्रिड बनेर सञ्चालन भएपछि त्यहाँका उपभोक्ताले दैनिक केही घण्टाबाहेक विद्युत उपभोग गर्न पाएका छन् । ‘अहिले चिसो बढेको हुँदा ब्याट्री रेष्टका साँझ ९–१० बजेदेखि राति २ बजेसम्म विद्युत आपूर्ति बन्द गर्छौ,’ उनले भने, ‘यो समय बाहेक हामीले विद्युत उपभोग गर्न पाएका छौं ।’

मिनि ग्रिडबाट उत्पादन भएको विद्युत वितरणका लागि १.११३ किलोमिटर थ्रि फेज र ४३२ मिटर सिंगल फेज प्रशारण लाइन बनाइएको वडाध्यक्ष बोहराले बताए । उनले सशस्त्र प्रहरी कार्यालयबाहेक वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी र वडा कार्यालयमा सोही ग्रिडबाट विद्युत आपूर्ति गरिएको छ भने २० वटा सडक वत्ती समेत लगाइएको छ । 

प्रवर्द्धन केन्द्रको चार करोड १३ लाख ३३ हजार १०२ रुपैयाँ र स्थानीय उपभोक्ताको १० प्रतिशत श्रमदानबाट मिनि ग्रिड निर्माण गरिएको केन्द्रका सिनियर अफिसर अमानुवल हक अन्सारीले बताए । उनले असारबाट सञ्चालनमा आएको ग्रिड उपभोक्तालाई हस्तान्तरण गर्न बाँकी रहेको बताए ।

यद्दपि, यसअघि पनि छाङरुमा जलविद्युत उत्पादन गरी स्थानीयलाई विद्युत सेवा पु¥याउने प्रयास गरिएको थियो । वडाध्यक्ष बोहराका अनुसार गरिबी निवारण कोषको ४० प्रतिशत अनुदान र उपभोक्ताको ६० प्रतिशत स्वलगानीमा लघु जलविद्युत निर्माण गरिएको थियो । तर, हिमपात, बाढी, पहिरोले बारम्बार जलविद्युतमा क्षतिपुग्दा उपभोक्ताले जलविद्युत उपयोग गर्न नपाएको वडाध्यक्ष बोहराले बताए । ‘मुस्किलले चार किलोवाटसम्म विद्युत उत्पादन हुन्थ्यो,’ उनले भने, ‘मोबाइल समेत चार्ज गर्न नपाएर पावर हाउस बन्द हुन्थ्यो । त्यही लघुजलविद्युतलाई विस्थापित गर्न सौर्य मिनि ग्रिड बनाइएको हो ।’

यस्तै साइपालमा पनि ६८ किलोवाटको सौर्य मिनि ग्रिड अन्तिम चरणमा छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको छ करोड दुई लाख ६७ हजार ९९८ रुपैयाँ लगानीमा बझाङको साइपाल गाउँपालिका वडा नं. ३ साईपालमा ६८ किलोवाटको सौर्य मिनि ग्रिड निर्माण अन्तिम चरणमा पुगेको छ । १४७ घरधुरी, चार व्यवसायिक फर्म, १० वटा सरकारी कार्यालयलाई विद्युत सेवा दिने उद्देश्यका निर्माण भइरहेको मिनि ग्रिड माघ–फागुनमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

उत्पादित सौर्य विद्युत वितरणका लागि ८५४ मिटर ११ किलो भोल्टेजको थ्रि फेजलाई, ४.२४८ मिलोमिटर ४ सय भोल्टेजको थ्रि फेज लाईन र १.८०२ किलोमिटर २३० भोल्टेजको सिंगल फेज लाईन निर्माण भइरहेको प्रर्बद्धन केन्द्रका बरिष्ठ अफिसर अन्सारीले बताए । 

प्रतिक्रिया