ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको निर्माण तीव्र, चार महिनाभित्र सञ्चालन हुने

शुक्रबार ०४, पुष २०८२ ०५:०२

धनगढी । कैलालीको धनगढीमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ । उपमहानगरभित्र संकलन गरिने फोहरमैलाको व्यवस्थापन गर्न चुनौतिपूर्ण बन्दै गएकोमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको हो । संघीय सरकारको क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण लगानीमा धनगढी–७, पटेलामा अत्याधुनिक केन्द्र निर्माणको काम तीव्ररुपमा भइरहेको छ ।

निर्माण कम्पनीका अनुसार अबको चार महिनाभित्र केन्द्र सञ्चालनमा आइसक्ने छ । भ्याटबाहेक ९६ करोड रुपैयाँ लागतको यो आयोजना चीनियाँ कम्पनी सिचुवान प्रोभेन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्स कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ । कम्पनीका सिनियर इन्जिनियर गोविन्दकुमार मण्डलले फोहरमैला व्यवस्थापन केन्द्रको समग्र भौतिक प्रगति ८७ प्रतिशत रहेको जानकारी दिए । 

अबको चार महिनाभित्र एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याउने गरी काम अन्तिम चरणमा पुगेको उनले बताए । यो योजनाको निर्माण अवधि आगामी ३ अप्रिलसम्म छ । ‘त्योभन्दा अगाडिनै काम सकिन्छ । त्यसपछि सञ्चालनमा जान्छ’ मण्डलले भने, ‘ती वर्ष कम्पनीले नै सञ्चालन गरेर हस्तान्तरण गर्ने सम्झौता छ ।’ आन्तरिक सडक, हलियाली प्रवद्र्धनलगायतका काम बाँकी रहेको कम्पनीले जनाएको छ । 

३० वर्षसम्म धनगढीको फोहरमैला व्यवस्थापन गर्न सकिने गरी डिजाइन गरिएको यो फोहरमैला व्यवस्थापन केन्द्र साढे ३२ विघा जमिनमा फैलिएको छ । केन्द्रले संकलितमध्ये दैनिक १३.६६ टन फोहरमैला खपत गर्ने जनाइएको छ । केन्द्रमा फोहरको वर्गीकरण गरेर कुहिले फोहरलाई जैविक मल, प्लाष्टिकजन्य फोहरलाई पुनः प्रयोग र पुनः प्रयोग गर्न नसकिने फोहरमैलालाई डम्पिङ गरिने उनले बताए । सन् २०२२ मै निर्माण सम्झौता भए पनि निर्माण स्थल निर्धारण र रुख कटान आदेशका कारण सम्झौताको दुई वर्षपछि मात्र निर्माण सुरु भएको थियो ।

बढ्दो सहरीकरण र अत्यधिक जनघनत्व रहेको सुदूरपश्चिमकै प्रमुख व्यापारिक केन्द्र धनगढीको फोहरमैला व्यवस्थापन गर्न समस्या छ । विद्यालय, टोलविकास संस्थामार्फत उपमहानगरले नगरभित्र सरसफाइ अभियाननै सञ्चालन गर्दै आएको छ । त्यसका लागि सरसफाइ सहजकर्तासमेत नियुक्त गरिएका छन् । यसले वातावरणीय सरसफाइमा व्यापक परिवर्तन देखिए पनि फोहरमैला व्यवस्थापनमा भने समस्या झेल्नु परिरहेको उपमहानगरले जनाएको छ ।

धनगढी उपमहानगरको वातावरण, खानेपानी तथा सरसफाइ शाखाका प्रमुख वातावरण इन्जिनियर अशोक अवस्थीले वर्गीकरण गरेपछि बाँकी रहने नकुहिने फोहर कहाँ व्यवस्थापन गर्ने भन्ने ठूलो समस्या रहेको बताए । ‘संकलितमध्ये करिब ३० प्रतिशत फोहरमैला डम्पिङ गर्नुपर्ने हुन्छ तर फाल्ने ठाउँ छैन’ उनले भने, ‘कहिलेकाँही डम्पिङ गर्ने ठाउँ नपाएर वर्गीकरण केन्द्रमै फोहरमैला थुपारेर राख्नुपर्ने बाध्यता छ ।’

फोहरमैला व्यवस्थापन केन्द्र नभए पनि उपमहानगरले केही वर्षयता फोहरमैलाको वर्गीकरण गरेर फोहरमैला व्यवस्थापनमा उदाहरणीय काम गर्दै आएको छ । पुनः प्रयोग गर्न सकिने प्लाष्टिकजन्य फोहरमैला बिक्री गर्ने गरिएको छ भने कुहिने फोहरलाई बायोग्याँस प्लान्टमार्फत ग्याँस र जैविक मल बनाउने गरिएको छ ।

डम्पिङ गर्नुपर्ने फोहर स्थानीयको आग्रहमा नदी कटान भएका क्षेत्र, होचो जमिन आदिमा फोहर पुर्ने गरिएको छ । फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आए फोहरमैला कहाँ फाल्ने भन्ने कुनै समस्या नहुने र व्यवस्थापनमा निकै सहज हुने इन्जिनियर अवस्थीले बताए । उनका अनुसार उपमहानगरले अहिले दैनिक २१ टन फोहरमैला संकलन गर्ने गरेको छ । उपमहानगरले घरबाटै कुहिने र नहुकिने फोहरमैला वर्गीकरण गरेर संकलन गर्छ । 

क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गतनै कैलालीको गोदावरी नगरपालिकामा झण्डै एक अर्ब लागतमा निर्मित एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र हालै सञ्चालनमा आएको छ । फोहरमैला व्यवस्थापन केन्द्र नहुँदा यहाँका खासगरी सहरी क्षेत्रका पालिकालाई फोहरमैला व्यवस्थापन प्रमुख चुनौतिका रुपमा रहेको छ ।

प्रतिक्रिया