ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जैविक मार्गमा बढ्दो अवरोध, मेटिँदैछन् परम्परागत बाटो

शुक्रबार ०४, पुष २०८२ १२:००

धनगढी । बाघको ओहोरदोहोर हुने क्षेत्रको रुपमा चिनिन्छ, कैलाली र कञ्चनपुरमा रहेको मोहना–लालझाडी करिडोर । जुन मार्ग भएर बर्सेनि भारतको दुधुवा नेशनल पार्कमा डमरुलाई जन्म दिएपछि बचाउनका लागि पोथी बाघ नेपालतर्फ आउने गर्छ । भाले बाघले भर्खरै जन्मेका डमरु खाइदिने भएकाले पोथी बाघ डमरु सुरक्षित गर्न मोहना–लालझाडी करिडोर क्षेत्रमा आउने गर्छ । ‘डमरु हुर्काउनकै लागि पोथी बाघले स्थान परिवर्तन गर्छ,’ मोहना–लालझाडी संरक्षित क्षेत्रका पूर्वसचिवसमेत रहेका लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना भन्छन्, ‘त्यो स्थान परिवर्तन गर्दा कहिले मोहना–लालझाडी करिडोरसम्म पोथी बाघ पुग्ने गरेको छ भने कहिले मोहना नदीको तटसम्म नै पुग्ने गरेको छ ।’

पहिले जस्तो पोथी बागलाई मोहना–लालझाडी करिडोर क्षेत्रमा आउन सहज नभएको राना बताउँछन् । ‘पहिले बाघले प्रयोग गर्ने मार्गहरु जंगलले ढाकिएको थियो,’ रानाले भने, ‘अहिले अवस्था फेरिएको छ । बाघको मार्गमा मानव बस्ती विस्तार भएका छन् । जसका कारण दुधुवा नेशनल पार्कबाट बाघलाई नेपालतर्फ आउजाउ गर्न सहज छैन ।’

मोहना–लालझाडी संरक्षित क्षेत्रका पूर्वसचिव रानाका अनुसार दुधुवा नेशनल पार्कबाट बेलाबेला बसाइसर्ने अर्को जनावर हो, हात्ति । ‘भारतको दुधुवा नेशनल पार्क र नेपालको मोहना–लालझाडी क्षेत्र हात्तीहरूको परम्परागत बसाइँसराइ हुने स्थलका रुपमा परिचित छन्,’ उनले भने, ‘हरेक वर्ष धेरै जंगली हात्तीहरू नेपाल–भारतबीच बसाइँ सार्ने गर्छन् । खानेकुराको खोजी तथा वर्षाको समयमा सुरक्षित स्थानको आवश्यकताका कारण हात्तीहरू बसाइँ सर्छन् । तर, अहिले हात्तिको मार्गमा मानव बस्ती विस्तार भएको हुँदा मानव–वन्यजन्तु द्धन्द्धको अवस्था सृजना भइरहेको छ ।’

रानाका अनुसार पहिले गौरीफन्टा नाका नजिकै रहेको डोकेबजार क्षेत्र हात्तिले बसाइसर्ने मार्ग हो । रानाले भने, ‘ हात्तिले सहजै आफ्नो मार्ग फेर्दैन । अहिले डोकेबजारसंगै सिंगो पुनरवास नगरपालिका क्षेत्र मानव बस्तीले भरिएको छ । अन्य मार्गमा पनि कतै मानव निर्मित संरचना छन् त कतै खेतीपाती गरिएको छ । जसका कारण बर्सेनि धनजनको क्षति हुने गरेको छ ।’

वन्यजन्तु संरक्षणकर्मीका अनुसार आफ्नो प्राकृतिक वासस्थानमा सबै आवश्यकता पूरा हुन सकेमा वन्यजन्तु मानव बस्तीमा पस्दैन । जब जङ्गलमा खानेकुरा तथा बस्ने ठाउँको अभाव हुन्छ तब मात्रै बस्तीमा वन्यजन्तु पुग्ने गरेका छन् । तर, कैलाली र कञ्चनपुरमा त वन्यजन्तुका मार्गमा विस्तार गरिएका मानव बस्तीका कारण जोखिम बढेको तर्क रानाको छ । ‘एकतर्फ वन्यजन्तुको बाटो मासिन थालिएको छ,’ उनले भने, ‘अर्कोतर्फ वन नै अतिक्रमणको सिकार भइरहेको छ । जसका कारण मानव र वन्यजन्तुबीच द्धन्द्ध बढिरहेको छ ।’

कञ्चनपुरको कृष्णपुर नगरापलिका– ५ मा रहेको हरियाली सामुदायिक वनका अध्यक्ष नित्यानन्द जेठारा पनि वन्यजन्तसको अस्तित्व मानिसले स्वीकार गर्न नसक्दा समस्या भइरहेको बताउँछन् । ‘कुनै पनि जंगली जनावर त्यत्तिकै मानव बस्तीमा छिर्दैन,’ उनी भन्छन्, ‘मानिसहरु नै जंगलमा छिर्ने गरेका कारण जोखिम बढेको हो । कहिले हामी वन्यजन्तुको बाटो छेक्छौं त कहिले जंगल नै मासेर घर बनाउने गरेका हुन्छौं । सोही कारण समस्या भएको हो । मानव बस्तीमा वन्यजन्तु पसेको नभई वन्यजन्तुको बासस्थानमा मानव बस्ती विस्तार हुँदा समस्या भइरहेको हो ।’ 

संरक्षणकर्मीका अनुसार पहिले लालझाडीबाट हात्तिको आवागमन दाङसम्म पनि हुने गरेको थियो । हात्तिका लागि लालझाडीमा प्रसस्त खाने आहार हुने गरेको थियो । तर, अहिले आवागमनका थुप्रै रुटमा अवरोध हुँदा समस्या भइरहेको छ । सामुदायिक वन समन्वय समितिका संस्थापक अध्यक्षसमेत रहेका पूर्वसुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशी तीन दशकदेदि लालझाडी जैविक मार्गमा काम गर्दै आएका छन् । ‘कहिले हात्ति लालझाडीमा कहिले हात्ति दाङमा भन्ने त गीत नै छ,’ उनी भन्छन्, ‘यो गीतबाट पनि पुष्टि हुन्छकी लालझाडी र दाङमा हात्तिको अवागमन हुने गरेको थियो । तर, अहिले मानव बस्तीले ठाउँमा कनेक्टिभिटी बिच्छेद भएको छ ।’ दुधुवाबाट वन्यजन्तुको मावागमन हुने सबैभन्दा मुख्य मार्ग डोकेबजार क्षेत्र रहेको जोशीको पनि दाबी छ ।

‘दुधवाबाट डोकेबजार हुँदै लालझाडी क्षेत्रमा वन्यजन्तु पुग्ने गरेका थिए,’ जोशी भन्छन्, ‘त्यहाँबाट चुरे हुँदै शुक्लाफाँटासम्म जीवजन्तु पुग्ने गरेका थिए । अहिले थुप्रै मार्गमा अवरोध छ । डोकेबजारमा मानव बस्तीका कारण अवरोध छ । जसले हात्ति र मानवबीच द्धन्द्ध निम्त्याएको छ । मोहना र दोधा नदीको छेउमा वृक्षारोपण गरेर वन्यजन्तुको आवागमनलाई सहज बनाउन आवश्यक छ ।’ मानव–वन्यजन्तुको सहअस्तित्वका विषयमा सबै निकायले काम गर्न आवश्यक रहेको उनी बताउँछन् । ‘अहिलेको समस्या जलवायु परिवर्तन पनि हो,’ उनी भन्छन्, ‘जलवायु परिवर्तनको असरमा मानव र जीवजन्तुले कसरी बाच्ने भन्ने विषयमा पनि काम हुन आवश्यक छ । जलवायु परिवर्तनको असर न्यूनीकरणतर्फ पनि लाग्न आवश्यक छ ।’

प्रतिक्रिया