नेकपा (एमाले) को ११औँ महाधिवेशनमा उपमहासचिव पदमा बिष्णु रिमालको पराजय आकस्मिक घटना हो जस्तो लागेन । यो परिणामले पार्टीभित्र लामो समयदेखि मौन रूपमा जमेको असन्तुष्टि र अविश्वासलाई सतहमा ल्याएको छ । अध्यक्ष केपी शर्मा ओलीका अत्यन्तै नजिकका, रणनीतिक सल्लाहकार र ‘कोर टिम’का प्रभावशाली पात्र मानिएका रिमाललाई प्रतिनिधिहरूले मत नदिनु, वास्तवमा व्यक्ति भन्दा पनि प्रवृत्तिविरुद्धको निर्णय हो ।
पार्टीभित्र र प्रतिनिधिहरूबीच व्यापक रूपमा उठ्ने एउटा गम्भीर आरोप के रहँदै आएको छ भने बिष्णु रिमालले अध्यक्ष ओलीलाई आफ्नो वरिपरि सीमित घेरामा राख्ने प्रवृत्ति अपनाउँदै आए । अध्यक्षसम्म पुग्ने सूचनाको छनोट, व्याख्या र प्रस्तुतीकरणमा रिमालको प्रभाव अत्यधिक रहेको धारणा धेरै नेताकार्यकर्तामा थियो । विशेषगरी संगठनको वास्तविक अवस्था, जिल्लास्तरको असन्तुष्टि र नेतृत्वप्रति देखिएको आलोचनालाई नरम बनाउने, कहिलेकाहीँ पूर्ण रूपमा छानबिन नगरी व्याख्या गर्ने प्रवृत्तिले अध्यक्ष र संगठनबीच दूरी बढाएको अनुभूति प्रतिनिधिहरूले गरेका थिए ।
यसले अध्यक्ष ओलीलाई कमजोर बनाउने होइन, तर एकखाले ‘फिल्टर गरिएको यथार्थ’ मा राख्ने काम भयो भन्ने बुझाइ पार्टीभित्र फैलियो । महाधिवेशनमा सहभागी धेरै प्रतिनिधिहरूले यो मनोविज्ञान बनाएका थिए कि नेतृत्वले जति कडा निर्णय गरिरहेको देखिन्छ, त्यो निर्णयभन्दा तलको संगठन त्यति सन्तुष्ट छैन । तर त्यो असन्तोष अध्यक्षसम्म समयमै र सही ढंगले नपुगेको आरोप रिमालमाथि पर्यो ।
अर्कोतर्फ, रिमालको राजनीतिक छवि सैद्धान्तिक रूपमा बलियो भए पनि व्यवहारमा अत्यन्तै केन्द्रित र सीमित समूहमा निर्भर देखियो । निर्णय प्रक्रिया केही व्यक्तिको वरिपरि सीमित हुँदा पार्टीभित्र सामूहिक नेतृत्वको भावना कमजोर भएको अनुभूति कार्यकर्तास्तरमा फैलियो । प्रतिनिधिहरूले यसलाई दीर्घकालीन रूपमा पार्टीका लागि हानिकारक प्रवृत्ति ठाने ।
महाधिवेशन प्रतिनिधिहरूको दृष्टिमा रिमाल ‘सुनाउने’ नेता भन्दा ‘व्याख्या गर्ने’ नेताको रूपमा बढी देखिए । संगठनले के भोगिरहेको छ भन्ने भन्दा पनि नेतृत्वलाई के सुन्न सहज हुन्छ भन्नेमा जोड दिने शैलीले विश्वासको खाडल बढाएको बुझाइ बलियो बन्यो । यही कारण प्रतिनिधिहरूले उनलाई आगामी नेतृत्व तहमा पुर्याउँदा अध्यक्ष र संगठनबीचको दूरी अझै बढ्न सक्ने जोखिम देखे ।
यस महाधिवेशनमा देखिएको अर्को महत्त्वपूर्ण पक्ष भनेको शक्ति सन्तुलनको खोजी हो । ओली नेतृत्व सुरक्षित रहोस् भन्ने चाहना प्रतिनिधिहरूमा थियो, तर त्यो नेतृत्व वरिपरि रहने पात्रहरूमा विविधता, आलोचना सुन्ने क्षमता र संगठनसँग प्रत्यक्ष सम्पर्क चाहियो भन्ने अपेक्षा पनि स्पष्ट देखियो । रिमालको उम्मेदवारीले त्यो सन्तुलन भन्दा पनि शक्ति केन्द्रीकरणलाई निरन्तरता दिने संकेत दिएको ठानियो ।
यसैले बिष्णु रिमालको हार केवल प्रतिस्पर्धात्मक गणितको नतिजा होइन । यो पार्टीभित्र ‘घेरा राजनीति’, सूचनाको नियन्त्रण र सीमित सल्लाहकार प्रवृत्तिप्रति दिएको राजनीतिक सन्देश हो । प्रतिनिधिहरूले नेतृत्वलाई कमजोर बनाउने होइन, बरु अझै मजबुत बनाउन आलोचनात्मक, खुला र बहुआयामिक सल्लाह आवश्यक छ भन्ने सन्देश दिएका छन् ।
अन्ततः यो परिणामले एमालेभित्र एउटा स्पष्ट चेतावनी दिएको छ,"अध्यक्ष शक्तिशाली हुनु कमजोरी होइन, तर अध्यक्षलाई वास्तविक अवस्था नदेखाइ सुरक्षित घेरामा राख्नु पार्टीका लागि दीर्घकालीन जोखिम हो ।" बिष्णु रिमालको पराजय त्यही जोखिमविरुद्ध प्रतिनिधिहरूले व्यक्त गरेको सामूहिक निर्णयका रूपमा बुझ्न सकिन्छ ।
प्रतिक्रिया