धनगढी । जेनजी आन्दोलनका क्रममा जलेर खरानी भएका कैलालीका सरकारी कार्यालयलाई निजी क्षेत्र र गैरसरकारी क्षेत्रको सहयोग गरेका छन् । जिल्ला प्रशासन कार्यालय कैलाली, गोदावरी नगरपालिका, कैलारी गाउँपालिका लगायतका सरकारी कार्यालयलाई निजी क्षेत्रले खरानी टकटकाएर उठ्न साथ दिएका हुन् । अहिले ती कार्यालयहरुले सेवा सुचारु गरेका थिए । आन्दालेनको क्रममा कार्यालयमा आगजनी भएपछि ती कार्यालयहरुको सेवा अवरुद्ध भएको थियो ।
भदौ २४ गते कार्यालय जलेपछि जिल्ला प्रशासन कार्यालयको नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी र सिफारिस जस्ता महत्वपूर्ण सेवा पूर्ण रुपमा अवरुद्ध भएको थियो । सेवा अवरुद्ध भएपछि कैलाली उद्योग वाणिज्य संघले एकथान कम्प्युटर र प्रिन्टर सहयोग ग¥यो । ‘सरकारी कार्यालयहरुमा भएको क्षतिको विषयमा तत्काल हामीले प्रमुख जिल्ला अधिकारीसंग बैठक ग¥यौं,’ कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्करराज ओझाले भने, ‘उहाँको निवासदेखि लिएर कार्यालय सबै जलेको थियो । हामीले जिल्ला प्रशासनको सेवा कम्तिमा चल्नुपर्छ र नागरिकले तत्काल सेवा पाउनुपर्छ भनेर कम्प्युटर र प्रिन्टर सहयोग ग¥यौं ।’
संघले जस्तै, विद्यालय, क्लब र निजी फर्महरुले जिल्ला प्रशासन कार्यालयलाई कम्प्युटर, प्रिन्टर, कुुर्सी, टेबल जस्ता फर्निचर र कार्यालयका लागि आवश्यक सामाग्री सहयोग गरे । सहयोग प्राप्त गरेपछि जिल्ला प्रशासन कार्यालयले पाँच दिनदेखि अबरुद्ध नागरिकता वितरण भदौं २९ गतेदेखि शुरु ग¥यो ।
जिल्ला प्रशासन कार्यालयलाई धनगढीको एरिष्टो बोर्डिङ १÷१ सेट कम्प्युटर, प्रिन्टर, टेबल, घुम्ने कुर्सी र १२ थान प्लाष्टिक कुर्सी सहयोग गरेको थियो । प्रहरी पब्लिक ब्याटमिन्टन क्लबले पनि १÷१ सेट कम्प्युटर, प्रिन्टर र स्क्यानर सहयोग गरेको थियो । एक्सिस विद्याश्रम, एसपिए कलेज, कम्प्युटर एसोसियसन, नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम, एडुपल नेपाल, थ्रि स्टार इंगलिश बोर्डिङ स्कुल, चैतन्य पाठशाला लगायतले कम्प्युटर, प्रिन्टर, स्क्यानर लगायत इलेक्ट्रोनिक्स समान सहयोग गरेको प्रशासनले जनाएको छ । तथ्यांक अनुसार आलोक फर्निचर उद्योगले प्रमुख जिल्ला अधिकारीको निवासमा जलेको एक थान पलङ सहयोग गरेको थियो भने सेती महाकाली ट्रान्सपोर्ट एसोसियसनले २०० एएमको ब्याट्री सहयोग गरेको थियो । ग्यालेक्सी सेकेण्डरी स्कुलले ५ थान स्टिल दराज, सुदूरपश्चिम समाज धनगढीले ९ थान प्लाष्टिक कुर्सी र २ थान टेबल, सुनचाँदी व्यवसायी संघले १० थान घुम्ने कुर्सी, शुभम् ठाकुरले एक थान प्रिन्टर, जय ठाकुरले ४ थान घुम्ने कर्सी, मारवाडी सेवा समाजले एक थान स्क्यानर सहयोग गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार ३१ संघ, संस्था तथा व्यक्तिले जिल्ला प्रशासन कार्यालयलाई सहयोग गरेका थिए । उनले जिल्ला प्रशासन कार्यालयले सहयोगी सबैलाई प्रमाणपत्र सहित सम्मानित समेत गरेको बताए । उनले सहयोग जुट्दै गएपनि जिल्ला प्रशासन कार्यालयले राहदानी, राष्ट्रिय परिचय पत्र र सिफारिस लगायतका सेवाहरु एकपछि अर्को गर्दै सुचारु गरेको बताए । उनले अहिले जिल्ला प्रशासन कार्यालयको सेवा पूर्ववत रुपमा सञ्चालन भइरहेको बताए ।
जेनजी आन्दोलनमा जलेर कार्यालय नै ध्वस्त भएपछि कैलालीको गोदावरी नगरपालिका, कैलारी गाउँपालिका लगायतका स्थानीय तहले सार्वजनिक अपिल गरेरै खरानीबाट उठ्न सहयोग माग गरेका थिए । जेनजी आन्दोलनपछि बनेको तनावपूर्ण स्थिति साम्य भएपछि गोदावरी नगरपालिकाले भदौ ३० गते सार्वजनिक अपिल गर्दै कार्यालय सञ्चालनमा सहयोग गर्न आग्रह गरेको थियो । सो अपिलपछि गोदावरीलाई निजी क्षेत्र, गैरसरकारी संस्था र स्थानीयको व्यक्तिगत सहयोगले नगरपालिकाको सेवा सुचारु भएको थियो ।
गोदावरीलाई नेपाल चेम्बर अफ कमर्स कैलालीले एक सेट डेस्कटप कम्प्युटर, स्थानीय सुरेशप्रसाद भट्टराईले ४ थान प्लास्टिक कुर्सी, डिएस विल्डर्स डडेल्धुराले ४० लिटर बर्जर पेन्ट, सर्वोत्तम पेन्टस् ग्रुपले ७५ हजार नगद र गड्तोला ट्रेडर्सले एक थान घुम्ने कुर्सी र कलर प्रिन्टर एक थान सहयोग गरेका थिए ।
यसैगरी, सुप समावेशी आधारभूत विद्यालयका शिक्षकहरूले १÷१ थान दराज, घुम्ने कुर्सी र २ थान प्लास्टिक कुर्सी, लुनिभा सहकारी तथा वित्तीय संस्थाले एक थान टेबुल, मानव अधिकारका लागि गोदावरी महिला समूह, सरस्वती मावि सेहरी, चण्डेश्वरी एजेन्सी प्रालि, गोदावरी–८ फकलपुरका यमबहादुर चौधरी लगायको व्यक्ति, थारु कल्याणकारिणी सभा गोदावरी, मजगाउँ थारु होमस्टे, शैलेश्वरी मावि बडेहाका शिक्षकहरु, भागेश्वर फ्लोर मिलका सञ्चालक लालबहादुर बोगटी लगायतका व्यक्तिहरुले कम्प्युटर, सोफा, घुम्ने कुर्सी, टेबल, प्रिन्टर, स्क्यानर लगायतका सामाग्री सहयोग प्राप्त भएको गोदावरी नगरपालिकाले जनाएको छ ।
गोदावरीका नगरप्रमुख विरेन्द्र भट्टले गोदावरी नगरपालिकाकाको पनरुत्थान तथा पुनर्निर्माणका लागि निजी क्षेत्र, सामाजिक संघसंस्था र स्थानीय बासिन्दाबाट ठूलो सहयोग प्राप्त भएको बताए ।
यसैगरी, कैलारी गाउँपालिकाले समेत खरानीबाट उठ्न सहयोगको अपिल गरेकोमा विभिन्न संघसंस्थाबाट कम्प्युटर, प्रिन्टर, स्क्यानर, दराज, टेबल, फर्निचर, कुर्सी, सोफा लगायतका सामाग्री सहयोग भएको गाउँपालिकाका सोमप्रसाद चौधरीले बताए ।
प्रतिक्रिया