धनगढी । नाला किनारमा नवजात शिशु फाल्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको धनगढीमा नवजात शिशु फाल्ने महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह बिष्टका अनुसार पक्राउ परेकी ३० वर्षीया महिला विवाहित हुन् । ‘महिलालाई पक्राउ गरेर थुनामा राखेका छौं,’ प्रहरी निरीक्षक बिष्टले भने, ‘उहाँले हिजो मात्रै आफूले ती शिशु (बालिका) लाई जन्म दिएको बताउनुभएको छ । उहाँको स्वास्थ्य अवस्था पनि सामान्य नभएकाले धेरै सोधपुछ गर्न सकेका छैनौं ।’
प्रहरीका अनुसार महिलाका श्रीमान् रोजगारीको सिलसिलामा विदेशमा छन् । आज बिहान धनगढी उपमहानगरपालिका–८ भद्रटोलमा नाला किनारमा फालिएको अवस्थामा नवजात शिशु फेला परेको थियो ।
प्रहरी निरीक्षक बिष्टका अनुसार शिशुलाई उद्धार गरी सेती प्रादेशिक अस्पतालमा लगिएको छ भने अवस्था सामान्य छ ।
प्रतिक्रिया