धनगढी । कैलाली उद्योग वाणिज्य संघले धनगढीमा सञ्चालन गरिरहेको सुदूरपश्चिम महोत्सवको अवधि चार दिन थपेको छ । संघले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी पुस ६ गतेसम्म महोत्सव लम्ब्याएको जनाएको हो । संघका अध्यक्ष पुस्करराज ओझाले महोत्सवमा स्टल राखेका व्यवसायी र दर्शकको माग बमोजिम महोत्सवको अवधि थप गर्ने निर्णय गरेको जनाए । १० दिनका लागि आयोजना गरिएको महोत्सव पुस २ गतेसम्म समय तोकिएको थियो । अब ६ गतेसम्म सञ्चालन हुने ओझाले बताए ।
नौं दिनसम्म करिब तीन लाख नागरिकले महोत्सव अवलोकन गरिसकेको र १० करोडभन्दा बढी कारोबार भएको अनुमान रहेको अध्यक्ष ओझाले बताए । उनले महोत्सव पर्वकै रुपमा सञ्चालन भइरहेको जनाए । उनले महोत्सवको अन्त्यसम्म लक्ष्यभन्दा बढीले अवलोकन गर्ने र १५ करोड भन्दा बढीको कारोबार हुने अनुमान रहेको बताए ।
प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ १९औं सुदूरपश्चिम महोत्सव भइरहेको छ । धनगढी उपमहानगरपालिका वडा नं. १ को पशुपति टोलमा सञ्चालन भइरहेको महोत्सवमा कृषि, जडिवुटी, हस्तकला, फर्निचर, अटोमोवाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सुचना प्रविधि गरी पाँच सय बढी स्टलहरु राखिएका छन् । कृषितर्फ ४० तथा महिला उद्यमी, एकल महिला र स्थानीय परिकारका १५ गरी ५५ वटा स्टल निःशुल्क राख्न दिइएको छ ।
अध्यक्ष ओझाले महोत्सवको १९औं संस्करणको चलिरहँदा नै २०औं महोत्सवलाई राष्ट्रिय महोत्सवको रुपमा मनाउने तयारी पनि गरिरहेको बताए । उनले सुदूरपश्चिम महोत्सव राष्ट्रकै नमुना महोत्सवको रुपमा विकास भइहरको बताए । उनले महोत्सवको अवधि थप गरिएसंगै दुर्गेश थापा लगायतका कलाकार ल्याउने तयारी पनि भइरहेको बताए ।
प्रतिक्रिया