धनगढी । सुदूरपश्चिम प्रदेशमा १५ हजारभन्दा बढी मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमले दिएको जानकारीअनुसार प्रदेशभर १५ हजार १८६ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार १० असोजयता सबैभन्दा बढी कैलाल र कञ्चनपुरमा मतदाता थपिएका छन् ।
कैलालीमा छ हजार ९३ जना मतदाता थपिएका छन् । यस्तै, कञ्चनपुरमा तीन हजार ७२२ जना र दार्चुलामा एक हजार १४९ मतदाता थपिएका छन् । अछाममा नौ सय छ, बझाङमा आठ सय ५८, बाजुरामा सात सय २७, बैतडीमा छ सय ९५, डडेल्धुरामा पाँच सय ३५ र डोटीमा पाँच सय एक जना मतदाता थपिएका भट्टले जानकारी दिए ।
०७९ सालमा भएको निर्वाचनमा सुदूरपश्चिमभरि मतदाता संख्या १६ लाख ५८ हजार थियो । प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टले ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता हुने जानकारी दिए । ‘दर्ताको समय अन्तिमतिर पुगेपछि निर्वाचन कार्यालयमा भीड बढिरहेको छ,’ भट्टले भने ।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीका अनुसार केही दिनयता कैलालीमा मात्रै दैनिक करिब चार सय जनाले नामावलीमा नाम दर्ता गराइरहेका छन् । मतदाता नामावली दर्ता गराउने युवाहरु भ्रष्टाचार र बेथितिविरुद्ध गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण बदलिएको अहिलेको परिस्थितिमा निर्वाचनबाट सही र सक्षम नेतृत्व छनोट गर्नुपर्ने बताउँछन् । प्रदेश निर्वाचन कार्यालयमा भेटिएका डोटीको केआइसिंह गाउँपालिका–२, का युवा कृष्णबहादुर बमले आगामी निर्वाचनमा मतदात गर्नका लागि नाम दर्ता गराउन लागेको बताए ।
प्रतिक्रिया