ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नेकपामा भीम रावलको इन्ट्रीले सुदूरपश्चिममा कस्तो पर्ला प्रभाव ?

बिहिबार २७, कार्तिक २०८२ ०३:५९

भीम रावलले नेपाली कम्युनिस्ट पार्टी रोजेपछि सुदूरपश्चिममा कस्तो पर्ला प्रभाव ?
धनगढी । झण्डै ११ महिना दलविहीन अवस्थामा रहेका डा. भीम रावल अन्ततः नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । १० पुस २०८१ मा एमालेले आफ्ना पूर्वउपाध्यक्ष रावललाई पार्टीको संगठित सदस्यबाट नै हटाएको थियो । त्यसपछि मातृभूमि राष्ट्रिय जागरण अभियान चलाएका रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएसंगै उनको प्रभावबारे चर्चा हुन थालेको छ । 

रावलको आगमनले नेपाली कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामा उत्साह बढेको देखिन्छ । यसबाट रावलको गृहप्रदेश सुदूरपश्चिममा नेकपाको जनाधार बढ्ने अनुमान पनि गरिएको छ । एमाले र काँग्रेसको तुलनामा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीको जनाधार कमजोर छ । कांग्रेससँगको गठबन्धन हुँदा पनि ०७९ सालको निर्वाचनमा माओवादी केन्द्रले सुदूरपश्चिममा प्रतिनिधिसभातर्फ एउटा पनि सिट जित्न सकेको थिएन । सोही गठबन्धनमा रहेको एकीकृत समाजवादीले भने तीन सिटमा जित निकालेको थियो । सो नतिजाले पनि भन्छ– सुदूरपश्चिममा अहिले बनेको नेकपा कमजोर छ । तर, रावलको आगमनले संगठन र जनाधार बलियो हुने दाबी नेकपाको छ । 

२०७९ सालमा अछामबाट संघीय निर्वाचनका लागि सर्वसम्मत पहिलो नम्बरमा सिफारिस भएर पनि टिकट नपाएका रावल एमालेका कुनै पनि उम्मेदवार जिताउन पनि लागेका थिएनन् । त्यसको क्षति एमालेले पनि ब्यहोर्न परेको थियो । एमाले पनि दुई सिटमा मात्रै विजयी भएको थियो । रावलको आगमनले नेकपालाई प्रदेशभर बलियो शक्ति बनाउने दाबी छ, सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घ सोडारीको । ‘उहाँ (रावल)को आगमनसंगै नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिम मात्र नभएर देशभरी नै बलियो बन्छ,’ सोडारीले भने । 

रावल आएसंगै यसको फाइदा सुदूरपश्चिम प्रदेशमा नेकपालाई पर्ने दाबी माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिव जनक बुढाको छ । बुढाले भने, ‘भीम रावलजत्तिको राष्ट्रिय नेता नेकपामा जोडिएपछि देशभरि र अझ सुदूरपश्चिम प्रदेशमा बढी प्रभाव पर्छ । उहाँ नेकपामा जोडिएपछि अछाम, बाजुरा, कैलाली र कञ्चनपुरमा बढी प्रभाव पर्छ । निर्वाचनमा हामी जित्छौँ ।’ रावल जोडिएपछि सुदूरपश्चिमका नौवटै जिल्लामा सांगठनिक रूपमा र जनमतका आधारमा कांग्रेस–एमालेको कडा प्रतिस्पर्धी नेकपा भएको बुढा बताउँछन् । 

एमालेमा हुँदा पनि रावल प्रदेशमा बलियो पकड भएका नेता हुन् । उनले एमाले हुँदा पनि प्रदेशको इन्चार्ज मागेका थिए । तर, ओलीले माओेवादीबाट एमालेमा नै बसेका सचिव लेखराज भट्टलाई अगाडि सारेर इन्चार्ज दिएका थिए । आफूले इन्चार्ज नपाएपछि रावल ओलीप्रति झन् आक्रोशित भएका थिए ।  

अब रावललाई नेकपाले उच्च स्थान दिएर फिल्डमा खटाएमा स्थानीय प्रभाव बढी हुने देखिन्छ । रावलले सुदूरपश्चिममा एमालेको जनाधारलाई कमजोर बनाउने रणनीति अपनाउनेछन् । उनी एमालेका सुदूपश्चिमका सबै नेताभन्दा बढी प्रभाव भएका नेतामा पर्छन् । एमालेका नेता कार्यकर्ताले अब उनलाई साथ दिन सक्ने पनि कतिपय नेताहरुको तर्क छ । रावलले आफूसँग जोडिएका सबै नेता कार्यकर्ताहरूलाई नेकपामा समाहित पनि गराइरहेका छन् । 
 

प्रतिक्रिया