धनगढी । नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने तयारीमा छन् । बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समायोजन हुँदैछ । केन्द्रीय सदस्य शाहले सोही कार्यक्रममा नेकपा प्रवेश गर्ने तयारी गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘एघारौं महाधिवेशनमा कुनै छलफल नै नहुने र आफ्नो निर्देशनात्मक मन्तव्यपछि महाधिवेशन समापन हुने’ भनेपछी अध्यक्ष ओली जबजको चीरहरण गर्ने मनसाय राखेर अघि बढेको उनको भनाई छ । एमाले अध्यक्ष ओलीका पछिल्ला बोली र व्यवहारले देशलाई अर्को संकटतर्फ धकेल्न लागेको उनको भनाई छ । ‘ओली प्रधानमन्त्री रहेका बेला स्कुले बालबालिका र युवाहरुको हत्या भयो, सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, शीतलनिवास जस्ता राष्ट्रका ऐतिहासिक धरोहरहरु नष्ट भए, व्यापारिक घराना र व्यक्तिको निजी सम्पतिको रक्षा गर्नु जिम्मेवारी र दायित्व कसको थियो ?,’ शाहले भने ‘युवाहरुको हत्या हुने अवस्था र सम्पत्ति संरक्षण गर्न नसकेकोमा ग्लानी र आत्मालोचना त परै जाओस्, उहाँको स्वच्छाचारिता र निरंकुशताले झन् सीमा नाघ्दै गएको देखियो । राजनीतिमा इमान, जमान, नैतिकता, जवाफदेहिता भन्ने कुनै चीजै नहुने हो र ?, ओलीमा त्यस्तै देखियो त ।’
उनले ओलीमा भन्दा बढी नैतिकता र जवाफदेहिता त पञ्चायत कालका प्रधानमन्त्री किर्तिनिधि बिष्टले देखाएको बताए । सिंहदरबारमा आगलागी हुँदा बिष्टले नैतिकताको आधारमा राजिनामा दिएका थिए । ‘ओलीका पछिल्ला अभिव्यक्ति देशलाई थप संकट र मुठभेडतर्फ धकेल्ने खालका छ,’ उनले भने ‘राष्ट्र र जनताप्रति जिम्मेवार कुनै पनि नेताले ओलीको जस्तो हर्कत गर्न सक्दैन ।’
पहिलो प्रदेशसभा कार्यकालमा बाजुराबाट निर्वाचित भई सुदूरपश्चिम प्रदेशसभा सदस्य, एमाले संसदीय दलको नेता, करिब चार वर्ष अवधि आन्तरिक मामिला तथा कानून र आर्थिक मामिला मन्त्री रहेका शाह एमालेमा लगातार दुई पटक केन्द्रीय सदस्य निर्वाचित नेता हुन् । एमाले निकट अनेरास्ववियुको बाजुरा अध्यक्ष हुँदै एमाले जिल्ला कमिटी अध्यक्षसमेत भएका थिए उनी ।
प्रतिक्रिया