धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शेरबहादुर देउवाको आवश्यकता समग्र देशलाई नै रहेको बताएका छन् । बिहीबार डडेल्धुरा जिल्लाका पालिका प्रमुखहरू, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
`डडेल्धुरा पवित्र भूमि हो, यो भूमिले देशको पाँच–पाँच पटक नेतृत्व लिने शेरबहादुर देउवा जस्ता व्यक्तित्वलाई जन्म दिएको छ,´ मुख्यमन्त्री शाहले भने, `देउवाले सधैं जनताको अधिकारका लागि अग्रपंक्तिमा रहेर संघर्ष गर्नुभयो । विगतका आन्दोलनहरूमा ज्यानमाथि खतरा आइरहँदा पनि उहाँ कहिल्यै विचलित हुनुभएन ।´
राजनीतिक र प्रशासनिक नेतृत्वबीच समन्वय र हातेमालो भए मात्र पारदर्शिता, सुशासन र विकास सम्भव हुने विश्वास मुख्यमन्त्री शाहले व्यक्त गरे ।
आफूले वाचा गरेअनुसार प्रदेश निजामती सेवा ऐन एक वर्षभित्र जारी गरेको र त्यसको केही समयपछि स्थानीय सेवा सञ्चालनसम्बन्धी ऐन पनि ल्याएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु आफ्नो प्रमुख नीति भएको बताए ।
प्रतिक्रिया