ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीबाट फर्कियो जाँचबुझ आयोगको टोली, क्षतिको विवरण संकलन

शनिबार १५, कार्तिक २०८२ १२:२१

धनगढी । जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विवरण संकलन तथा सरोकारवालासंग अन्तरक्रियाका लागि कैलाली आएको जाँचबुझ आयोगको टोली फर्किएको छ । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएको क्षति विवरण संकलन गरेर टोली शनिबार काठमाडौं फर्किएको हो । 

टोलीले शुक्रबार धनगढीमा सरोकारवालासंग छलफल गरेको थियो । सो क्रममा जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीले जेनजी आन्दोलनका क्रममा साढे दुई खर्ब बराबरको भौतिक क्षति भएको प्रारम्भीक अनुमान रहेको बताए । छलफलमा उनले सरकारी निकायमा आगजनी हुँदा भौतिक क्षतिसँगै राज्यका निकै महत्वपूर्ण कागजात जलेर नष्ट भएका बताए । आन्दोलनमा भएको दमन, हिंसात्मक गतिविधि, भौतिक क्षतिलगायत विषयमा आयोगले विस्तृत अध्ययन गरिरहेको उनले बताए । ‘आन्दोलनमा भएको क्षतिको एकिन विवरण आइसकेको छैन, तर दुईदेखि साढे दुई खर्बको क्षति भएको प्रारम्भीक अनुमान छ,’ सदस्य भण्डारीले भने, ‘महत्वपूर्ण कागजात जलाइएका छन् ।’ उनले देशभरिबाटै क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए ।

सदस्य भण्डारीले कसैको दवावमा नभइ स्वतन्त्ररुपमा आयोगले काम गर्ने दावी गरे । आन्दोलनपछि दण्डहिनताको अवस्था मौलाउँछ कि भन्ने डर रहेको उल्लेख गर्दै उनले सुरक्षा निकाय, प्रशासनदेखि सरोकारवाला निकायलाई कसरी कसरी सक्रिय बनाउने भनेर आयोगले सुझाव दिने बताए । ‘२३ गते धेरै विद्यार्थी मरे, कसरी मरे, त्यसमा को कुन हदसम्म जिम्मेवार थिए भनेर अध्ययन गर्दैछौँ । हामीले कसैको दवामा काम गर्दैनौँ भनेर सपथ आएका छौँ,’ आयोगप्रति विश्वस्त रहन आग्रह गर्दै भण्डारीले भने, ‘आयोगले स्वतन्त्रतापूर्वक काम गर्ने सुनिश्चितता गर्छौँ ।’

आन्दोलनका क्रममा भएका तोडफोड, आगजनीजस्ता आपराधिक घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउनु पर्ने उनको भनाइ थियो । ‘भिडियो फुटेज हेर्दा आगजनी मैले गरेको भनेर भनेको छ, त्यही मान्छे खुला हिँडिरहेका छन्,’ उनले भने, ‘यसले मान्छे त्रसित छन् भन्ने कुरा आए । त्यसलाई सम्बोधन गर्छौँ ।’

छलफल कार्यक्रममा कैलालीस्थित स्थानीय तहहरुका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुखलगायतले आन्दोलनका क्रममा आआफ्नो कार्यालयमा भएको भौतिक र अन्य क्षतिबारे आयोगका सदस्यलाई जानकारी गराएका थिए । यस्तै आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत र मुख्यमन्त्री कार्यालयको स्थलगत निरीक्षण पनि गरेको थियो । सदस्य भण्डारीले बिहीबार कञ्चनपुरमा पनि आन्दोलनमा भएको क्षतिबारे सरोकारवालासँग जानकारी लिएका थिए ।

प्रतिक्रिया