धनगढी । एक नम्बर वरीयतामा रहेका एसएसपी विश्व अधिकारी डीआईजीको बढुवा सिफारिसमा छुटेपछि राजीनामाको चर्चा चलेको छ । प्रहरी संगठनभित्र उनले राजीनामा दिने चर्चा चलेको हो । तर, अहिलेसम्म उनले राजीनामा भने दिएका छैनन् । उनी कार्यालयमा हाजिर पनि भएका छैनन् ।
जेनजी आन्दोलनको क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख रहेर जिम्मेवारी सम्हालेका अधिकारी हाल केन्द्रीय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा कार्यरत छन् । ०८० वैशाख २४ मा भएको एसएसपी बढुवामा उनी पहिलो नम्बरमा रहेका थिए । पहिलो नम्बरमा रहेका अधिकारीलाई छुटाएर दोस्रोदेखि छैटौँ नम्बरसम्मका एसएसपीलाई सिफारिस गरेपछि उनी असन्तुष्ट रहँदै आएका थिए ।
बढुवा सिफारिस सार्वजनिक भएको दिन उनी कार्यालयमै उपस्थित थिए । त्यसयता उनी कार्यालयमा उपस्थित भएका छैनन् । उनले केही निकट व्यक्तिलाई ‘राजीनामा दिने सोचमा छु’ भन्दै फोन गरेको बताइन्छ । २०५५ वैशाखमा प्रहरी सहायक निरीक्षकबाट प्रहरीमा सेवा प्रवेश गरेका अधिकारीले २०५६ असारमामा इन्स्पेक्टरमा नाम निकालेका थिए । त्यसपछि उनी आफ्नो ब्याचमा सधैँ एक नम्बरमा रहेको प्रहरी अधिकृतहरू बताउँछन् ।
जेनजी आन्दोलनको छानबिनका लागि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोग बनाइएको छ । छानबिन समितिको कुनै निर्णय गरेको अवस्था छैन । जाँचबुझ रिपोर्ट नआउँदै अधिकारीलाई बढुवा समितिले नै ‘दोषी’ करार गर्न खोजेको प्रहरी अधिकारीहरु बताउँछन् । आईजीपी चन्द्रकुवेर खापुङले आफू निकट अवि नारायण काफ्लेलाई बढुवा गर्न अधिकारीलाई छुटाएको प्रहरी संगठनभित्र पनि चर्चा छ । काफ्ले र खापुङ दुवै जना तेह्रथुमका हुन् । काफ्ले एसएसपीको मेरिट लिस्टमा छैटौँ नम्बरमा थिए ।
प्रतिक्रिया