धनगढी । कैलालीको धनगढीमा पनि छठ पर्वको रौनक छ । धनगढीको सीमा भएर बग्ने मोहना नदीको तटलाई बेहुलीझैँ सिँगारिएको छ । छठ पूजा सेवा समिति धनगढीको आयोजनामा सयौं पूजा कक्ष (छठी घाट) बनाएर पूजाको तयारी भइरहेको छ । मोहनामा केही दशकअघि पाँच वटा पालसहितको घर बनाएर छठ पर्व मनाउन सुरु गरिएकोमा यसवर्ष झण्डै तीन सय वटा पूजा कक्ष बनाइएको छ ।
समितिका अध्यक्ष सन्तोष मण्डलले सुरुका वर्षमा पूजास्थल सुनसान हुने गरेकोमा पछिल्ला वर्षहरुमा चहलपहल बढ्दै गएको बताए । पहिले मिथिला समुदायले मात्र मनाउने चलन रहेकोमा अहिले सुदूरपश्चिममा पनि छठ पर्व मनाउने क्रम बढेको उनको भनाई थियो । पूजास्थलमा रमाइलो मेलासमेत राखिएको आयोजकले जनाएको छ ।
आज छठ पर्वको मुख्य दिन हो । आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइँदै छ । पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातबासमा रहँदा उक्त गुप्तबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको बताइन्छ ।
प्रतिक्रिया