धनगढी । कैलालीमा स्थानीय प्रशासनसहित सरोकारवालाको बैठकले कैलालीमा धान खरिद तत्काल सुरु गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको अध्यक्षतामा बसेको बैठकले कार्तिक ११ गतेभित्र धान खरिद सुरु गर्न र धान खरिदको कोटा बढाउन आग्रह गर्ने निर्णय गरेको हो ।
कैलालीमा खाद्यले धान खरिद सुरु गरेको छैन । किसान व्यापारीलाई सस्तो मूल्यमा धान बिक्री गरिरहेका छन् । सरकारले निर्धारण गरेको धानको न्यूनतम मूल्यभन्दा नौ सय रुपैयाँ कममा समेत धान खरिदबिक्री हुन थालेपछि किसान मारमा परेका छन् ।
खाद्यले ढिलोगरी खरिद सुरु गर्दा सरकारले तोकेको धानको मूल्य लागू हुन नसकेको हो । खाद्यले कैलालीका छ ठाउँमा डिपो राखेर धान खरिद गर्दै आएको छ । किसानलाई पायक पर्ने गरी खरिद केन्द्रको संख्या बढाउन पनि बैठकले खाद्यलाई आग्रह गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
राजनीतिक दलका प्रतिनिधि, कृषक, व्यापारीसहित सरोकारवालाको बैठकले कैलालीका किसानलाई परम्परागत मोटो धानको विकल्पमा बजारको मागअनुसार मसिनो धान उत्पादनलाई प्रोत्साहन गर्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न पनि स्थानीय सरकार र सरोकारवाला निकायलाई आग्रह गरेको छ ।
सरकारले यस वर्ष मोटो धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३.८१ रुपैयाँ र मध्यम धानको मूल्य तीन हजार ६२८.३३ रुपैयाँ तोकेको छ । तर यहाँ मोटो धान प्रतिक्विन्टल दुई हजार पाँच सय ५० रुपैयाँसम्ममा कारोबार भइरहेको छ ।
प्रतिक्रिया