धनगढी । तिहार सकिएलगत्तै छठ पर्वको रौनक सुरु भएको छ । सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ । पहिलो दिन आज ‘नहाय–खाय’ मनाइँदैछ । आजको दिन ब्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरवा–अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ ।
खासगरी मधेसका जिल्लाहरुमा धुमधामका साथ मनाइने छठ पर्व पछिल्ला वर्षहरुमा फैलदै गएको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख सहर धनगढीमा पनि छठ पर्व विस्तार हुँदै गएको छ । साढे दुई दशकअघिसम्म छठ पर्वमा सूर्यलाई जल चढाउन सात–आठ परिवारमात्र धनगढी भन्सार रोडस्थित मोहना नदी पुग्थे । नदी किनारमा उदाउँदो र अस्ताउँदो सूर्यलाई जल चढाउने ब्रतालुको चहलपहल हुन्थेन ।
छठ पर्व मनाउनेको संख्या वर्षेनि बढ्दै गयो । करिब दशकयता छठका बेला मोहना नदी किनार झकिझकाउ हुन थालेको छ । थारु, रानाथारु तथा सुदूरपश्चिमका पहाडी जिल्लाबाट बसाइ सरी आएका समुदायको बाहुल्यता रहेको धनगढीमा विवाह, व्यापार, रोजगारीलगायत कारणले पूर्वी मधेसबाट बसाइ सरी आएकाको संख्या बढ्दै छ । छठ पर्व अन्य समुदायमा पनि फैलन थालेपछि केही वर्षयता यहाँ छठ भव्यरुपमा मनाउन थालिएको छ ।
‘हिजोआज छठका बेला पूजाआजा गर्नमात्र मोहना हजारौँ पुग्छन्’ धनगढीका स्थानीय आषिश झाले भने, ‘यहाँका अरु समुदायमा पनि छठ पर्व फैलदै गएको छ । छठ पर्व मनाएको हेर्न अरु समुदायका व्यक्ति पनि मोहनामा आउँछन् ।’ परिवार विस्तार, रोजगारी, बसाइसराइजस्ता कारणले छठ पर्व मनाउनेको संख्या यहाँ बढेको स्थानीयको भनाइ छ ।
पारिवारिक सुख–समृद्धि र सन्तानको कल्याणको कामनासहित मनाइने यस पर्वको दोस्रो दिन भोलि (आइतबार) खरना रहेको छ । भोलि साँझ ब्रतालुहरूले चामल, सक्खर र दूधबाट खीर बनाएर प्रसादस्वरूप ग्रहण गरी खरना विधि गर्ने गरिन्छ ।
तेस्रो दिन सोमबार छठको मुख्य दिन सौझकारकका रूपमा मनाइन्छ । यस दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अघ्र्य दिने चलन छ । अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ । अन्तिम दिनलाई ‘पारन’ भनिन्छ ।
छठ पर्वमा बाँसको ढाकी, डगरी, माटोको कोसिया–कुरबार, हात्ती आदिसहितका सामग्री अर्पण गरिन्छ । त्यस्तै ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी, मिठाई तथा विभिन्न फलफूल प्रसादका रूपमा सूर्यदेवलाई अघ्र्य अर्पण गरिन्छ ।
अघ्र्य दिने ब्रतालुले ४८ घण्टासम्म अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ, त्यसैले छठलाई निष्ठा र कठोर साधनाको पर्व मानिन्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर चढाइएको सामग्री प्रसादका रूपमा ग्रहण र वितरण गरिने भएकाले यो पर्व सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा पनि लिइन्छ ।
छठ पर्व मधेसी समुदायले धुमधामका साथ मनाउने गरेका छन् । पछिल्ला वर्षमा यहाँ मधेसी समुदायको संख्या बढेको उक्त समुदायका अगुवा बताउँछन् । छठ अहिले मधेसी समुदायको मात्र पर्व नभइ यसलाई यहाँको अन्य समुदायले पनि स्विकार गरेको उनीहरुको भनाइ छ ।
प्रतिक्रिया