ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाजुराको बुढीगंगाले किन हटायो करारका कर्मचारी ?

सोमबार ०३, कार्तिक २०८२ ०८:१७
  • करारका १२० कर्मचारी हटाइए
  • बन्द भए सात स्वास्थ्य संस्था

धनगढी । बाजुराको बुढीगंगा नगरपालिकाले करार र ज्यालादारीमा हालसम्म नियुक्त भएका सम्पूर्ण कर्मचारी हटाएपछि हलचल पैदा भएको छ । सात वटा स्वास्थ्य केन्द्रहरु बन्द भएका छन् । एक सय २० जना कर्मचारी हटाइएका छन् । उनीहरुलाई कार्तिक १ गतेदेखि लागु हुने हटाउने निर्णय कार्यपालिकाको बैठकले गरेको हो ।

बुढीगंगा नगरपालिकाले आर्थिक वर्षको पहिलो चौमासिकको अन्तिम महिनामा आएर यसरी अकस्मात ठुलो संख्यामा करार सेवाका कर्मचारी हटाउने निर्णय गर्नुका चार कारण उल्लेख गरेको छ । नगरप्रमुख रामबहादुर बाँनियाका अनुसार हालै अन्तरिम सरकार अर्थ मन्त्रालयद्धारा दरबन्दी बाहेकका कर्मचारी राख्न नपाइने भन्दै जारी गरिएको परिपत्र, सुदूरपश्चिम प्रदेशसभाले बनाएको स्थानीय सेवाको गठन तथा संचालन सम्बन्धि ऐन २०८१ को प्रावधान, महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको बेरुजु र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी र प्रश्नका कारण करार सेवामा कार्यरत कर्मचारीको म्याद थप नगर्ने निर्णय गरिएको हो ।

करारका कर्मचारी हटाउने निर्णयपछि स्वास्थ्य क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । स्वास्थ्य क्षेत्रका ४६ जना कर्मचारी हट्दा पालिका चिकित्सकविहीन भएको छ भने विभिन्न वडामा सञ्चालित एउटा बथिङ सेन्टरसहित सात वटा स्वास्थ्य बन्द भएका छन् । 

स्वास्थ्यतर्फका ४६ जना, शिक्षातर्फका छ जना, कृषितर्फ १० जना, भेटनरीतर्फ १०, इन्जिनियरिङतर्फ सात, महिला तथा बालबालिकातर्फ दुई, प्रशासनतर्फ ३४ र पाँच जना मनोसामाजिक कार्यकर्तालाई नगरपालिकाले हटाउने निर्णय भएको नगर प्रवक्ता हेमराज जैशीले बताए । 

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार अम्कोट आधारभूत स्वास्थ्य केन्द्र, मुसी आधारभूत स्वास्थ्य केन्द्र, ताप्रा आधारभूत स्वास्थ्य केन्द्र, डेल्टा आधारभूत स्वास्थ्य केन्द्र, बाम्का आधारभूत स्वास्थ्य केन्द्र, मोटाबाडा आधारभूत स्वास्थ्य केन्द्र, सेलापाखा सामूदायिक स्वास्थ्य केन्द्र र जुवापानी आधारभूत स्वास्थ्य केन्द्र बन्द भएका छन् । बन्द भएका स्वास्थ्य संस्थामा कम्तिमा एक जना अहेव, एक जना अनमी र एक जना कार्यालय सहयोगी कार्यरत थिए ।

सेलापाखा सामूदायिक स्वास्थ्य केन्द्र बुढीगंगा नगरपालिकामा  विकट क्षेत्रमा पर्ने स्वास्थ्य संस्था भएकोले त्यहाँ बर्थिङ सेन्टरसमेत सञ्चालनमा थियो । बन्द भएका स्वास्थ्य संस्थामा एक जना अहेव, एक जना अनमी र एक जना कार्यालय सहयोगी कार्यरत थिए ।

यस्तै तीन वटा स्वास्थ्य चौकी रहेको बुढीगंगा नगरपालिकामा टाँटे स्वास्थ्य चौकीमा कार्यरत मेडिकल अधिकृत, दुई जना प्रयोगशाला सहायक, एक जना रेडियोग्राफर सहायक, एक जना अनमी, एक जना आँखा सहयोगी, एक जना आयूर्वेद सहायक र दुई जना कार्यालय सहयोगी हट्ने सूचीमा परेका छन् । यस नगरपालिकामा एक जना मात्र मेडिकल अधिकृत थिए । अब डाक्टरविहीन नगरपालिका भएको छ । यस्तै ब्रम्ह्रतोला र देवलसैन स्वास्थ्य चौकीमा प्रयोगशाला सहायकसमेत हटेपछि सेवा बन्द भएको छ ।

‘दैनिक सरदर ३० जना विरामी र महिनामा पा“च जना सुत्केरी सेवाको केश हुन्थे,’ बर्थिङ सेन्टरसमेत रहेको सेलापाखा सामूदायिक स्वास्थ्य केन्द्रकी अनमी देविका सिंहले भनिन्, ‘०७२ सालमा स्थापना भएको यो संस्था बन्द भएपछि यस क्षेत्रका बासिन्दाले अब अछामको बयालपाटा पुग्नु पर्ने बाध्यता हुनेछ ।’ बुढिगंगाकाको स्वास्थ्य सेवाको अवस्था ०७२ सालअघि जुन तहको स्वास्थ्य सेवाको अवस्था थियो त्यही अवस्थामा फर्किएको कतिपय स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

वडा कार्यालयहरु पनि कर्मचारीविहीन हुने अवस्था भएको कर्मचारीहरुले बताएका छन् । अधिकांश वडामा एक जना वडा सचिव मात्र रहेका छन् ।

‘अन्य क्षत्रेमा स्थायी दरबन्दीका कर्मचारीबाटै काम चलाउने अवस्था भएपनि स्वास्थ्य क्षेत्र तहसनहस हुने अवस्था आएको छ,’ बाँनियाले भने, ‘तत्काल बैधानिक विकल्पमा गएर समस्या समाधान गर्ने प्रयास गर्छौं ।’ नगरप्रमुख बाँनियाले ओएनएम गर्ने प्रकृयाका लागि छलफल सुरु गरिसकेको बताए । ‘अहिले उत्पन्न रिक्तता यथासक्य वैधानिक रुपमा चाँडै पूर्ति गर्छौं,’ उनले भने ।

प्रतिक्रिया