धनगढी । जिल्ला प्रशासन कार्यालयले सबै किसिमका होटल व्यवसाय राति १० बजेसम्म मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सूचना जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।
‘देशको पछिल्लो परिस्थिति र जिल्लाको हालको शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी सार्वजनिक सुरक्षा, सुव्यवस्था र सामाजिक मर्यादा कायम राख्ने उद्देश्यका साथ अर्को व्यवस्था नभएसम्मका लागि सबै किसिमका होटल व्यवसाय, डान्स बार, दोहोरी साँझ लगायतका मनोरञ्जनसम्बन्धी व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्नु र गराउन हुन सम्बन्धित सम्पूर्ण व्यवसायीहरूलाई जानकारी गराइन्छ,’ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालद्वारा जारी सूचनामा भनिएको छ, ‘यो सूचनाको अवज्ञा गरी कानूनविपरीतका कार्यहरु गरे÷गराएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही भई जाने व्यहोरा समेत सबैको जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ ।’
यसअघि पनि धनगढीका होटल तथा रेष्टुरेण्टलाई १० बजेसम्म सञ्चालनको अनुमति नै थियो । तर, केही डान्स बारलाई १२ बजेसम्म व्यवसाय सञ्चालनको अनुमति स्थानीय प्रशासनले दिएको थियो । तर, अब भने डान्स बार पनि १० बजे बन्द गर्न निर्देशन दिइएको छ ।
विगतदेखि नै व्यवसायीहरुले धनगढीमा रात्रीकालीन व्यवसाय सञ्चालनको माग गर्दै आएका छन् । आर्थिक मन्दीको अवस्थामा व्यवसायलाई चलायमान बनाउनका लागि स्थानीय प्रशासनले पूर्णकालिन अर्थात् २४ घण्टा नै होटल व्यवसाय सञ्चालनको अनुमति दिनुपर्ने माग होटल व्यवसायी संघ कैलालीको छ ।
प्रतिक्रिया