ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका १२९ जना जेनजी आन्दोलनका घाइते, परिचयपत्र र भैपरी खर्चका लागि निवेदन माग

शुक्रबार ३१, असोज २०८२ १२:३४

धनगढी । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमका एक सय २९ जना घाइते भएको सरकारी तथ्यांक सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त जेनजी आन्दोलनका क्रममा घाइते भएकाको प्रारम्भिक सूची गृह मन्त्रालयले सार्वजनिक गरेको हो ।

सार्वजनिक सूचीअनुसार कैलालीमा ५४, कञ्चनपुरमा ३०, डडेल्धुरामा २३, दार्चुलामा चार, अछाममा तीन, बझाङमा छ, बैतडीमा छ, डोटीमा तीन र बाजुरामा एक जना घाइते छन् । घाइतेलाई परिचयपत्र र भैपरी खर्चका लागि जिल्ला प्रशासन कार्यालयहरुले निवेदन माग गरेका छन् । 

जिल्ला प्रशासन कार्यालय कैलालीले पनि सूचना जारी गरेको छ । प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार कैलाली स्थायी ठेगाना भएका घाइतेलाई कागजात र प्रमाणका आधारमा घाइते परिचयपत्र तथा खर्च बापत २० हजार उपलब्ध गराउन लागिएको जानकारी दिए । 

प्रशासनले घाइतेहरुलाई सम्बन्धित स्थानीय तहको सिफारिश, प्रदर्शनका क्रममा घाइते भई अस्पतालमा उपचार गराएको बिरामी टिकट, घाइतेको नाममा रहेको बैंकको नाम र खाता नम्बर, नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्र, हालसालै खिचिएको दई थान फोटोसहित निवेदन पेश गर्न अनुरोध गरेको छ । प्रशासनको सूचनामा सम्वन्धित घाइते स्वयम् उपस्थित हुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया