ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली भन्सार पाँच वर्षदेखि राजश्व संकलनको लक्ष्य पुरा गर्न असफल, यस्तो छ कारण

बिहिबार ३०, असोज २०८२ १०:५२

धनगढी । कैलाली भन्सार कार्यालय पाँच वर्षदेखि निर्धारित राजश्व संकलनको लक्ष्य पुरा गर्न असफल भएको छ । आर्थिक वर्ष ०७७/७८ देखि राजश्व संकलनको वार्षिक लक्ष्य पुरा हुन नसकेको हो ।

उत्पादन र आयातको सम्भाव्यता अध्ययन नगरी लक्ष्य निर्धारण गर्दा राजश्व संकलन लक्ष्यमा पुग्न नसकेको विगतको अनुभव रहेको कार्यालयको भनाई छ । राजश्व छली घटाउन नसक्दा पनि राजश्व संकलनको वार्षिक लक्ष्य पुरा गर्न कठिन भइरहेको बताइएको छ ।आर्थिक गतिविधि घटेको कारण पनि राजस्व संकलन लक्ष्यअनुसार नभएको दाबी कार्यालयको छ । 

सुदूरपश्चिमको प्रमुख भन्सार नाकामा रहेको कैलाली भन्सार कार्यालयमा चालु आर्थिक वर्षको पहिलो तीन महिनाको राजश्व संकलन पनि गत वर्षको तुलनामा घटेको छ । गत आर्थिक वर्ष ०८१/८२ को पहिलो तीन महिनामा एक अर्ब ७८ करोड ६० लाख ६३ हजार रहेको थियो ।

चालु आर्थिक वर्ष ०८२/८३ को पहिलो तीन महिना साउनदेखि असोज २८ गतेसम्मको राजश्व संकलन भने एक अर्ब ७२ करोड ७७ लाख ३६ हजार रहेको छ । कैलाली भन्सार कार्यालयले त्यस अघिल्लो आर्थिक वर्ष ०८०/८१ को सोही अवधिमा एक अर्ब ६१ करोड ६० लाख २५ हजार रुपैयाँ राजश्व संकलन गरेको अभिलेख छ ।

गत आर्थिक वर्षमा लक्ष्य अनुसार न्यून संकलन भएपछि चालु आर्थिक वर्षमा राजश्व संकलनको लक्ष्य नै घटाएको थियो । गत आर्थिक वर्ष ०८१/८२ को साउनमा ८२ करोड लक्ष्य निर्धारण गरिएकोमा ६३ प्रतिशत, भदौमा ९० करोड लक्ष्य लिइएकोमा ५९ प्रतिशत र असोजमा ८७ करोड लक्ष्यमा ७६ प्रतिशत मात्र राजश्व संकलन हुन सकेको थियो । चालु आर्थिक वर्षमा भने कार्यालयले साउनमा ७१ करोड, भदौमा ७४ करोड र असोजमा ७६ करोड राजश्व संकलनको लक्ष्य निर्धारण गरेको थियो ।

कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षमा कूल नौ अर्ब ७१ करोड १५ लाख ६ हजार राजश्व संकलनको लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा ११ अर्ब १६ करोड २६ लाख ३० हजार लक्ष्य निर्धारण गरिएकोमा आठ अर्ब ६६ करोड ९८ लाख अर्थात् ७७ प्रतिशत मात्र राजश्व संकलन भएको भन्सार अधिकृत खिमप्रसाद अर्यालले बताए ।

आर्थिक वर्ष ८०/८१ मा ७ अर्ब ९१ करोड ८० लाख ९८ हजार कूल राजश्व संकलन भएको अर्यालले जानकारी दिए । ‘पछिल्लो समयमा व्यापार व्यवसाय घटेकाले आयात पनि घटेको छ,’ भन्सार अधिकृत अर्यालले भने ‘ कैलालीमा राजश्व संकलनको मुख्य आधार पेट्रोलियम पदार्थ हो । व्यापार व्यवसाय नबढ्दासम्म आयात घट्ने र राजश्व संकलन पनि स्वतः घट्ने नै भयो ।’

प्रतिक्रिया