ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

५० वर्षदेखि बसोबास गर्दै आएको जग्गाको स्वामित्व अझै पाइएन

बिहिबार २३, असोज २०८२ ०१:२०

कञ्चनपुर । कृष्णपुर नगरपालिका–३ का बासिन्दाले ५० वर्षदेखि चलन भोग गर्दै आएको जग्गाको स्वामित्व अझै पाउन सकेका छैनन् । तत्कालीन सुकुम्वासी आयोगले सेतो जग्गाधनी प्रमाण–पुर्जा वितरण गरे पनि त्यसले मान्यता नपाउँदा स्थानीय बासिन्दा स्वामित्वविहीन अवस्थामा रहेका हुन् । 

जग्गाको स्वामित्व नपाउँदा स्थानीयले आफ्नो जग्गा बैङ्कमा धितो राखेर कारोबार सुरु गर्न, उद्यमशीलता कार्यक्रम अघि बढाउन र सरकारी सहुलियत पाउन नसकेको बताएका छन् । स्थानीय गङ्गाराम चौधरीका अनुसार वि.सं २०६७ सालमा तत्कालीन सुकुम्वासी आयोगले नाप नक्सा गरी राजस्व बुझाएर जग्गा रजिष्ट्रेसनसहित पुर्जा उपलब्ध गराएको थियो । ‘त्यो पुर्जालाई कानुनी मान्यता नदिँदा अझै स्वामित्वविहीन बन्न पुगेका हौँ’, चौधरीले भने ।

हालै विघटन भएको भूमि आयोगले पुनः नाप नक्सा गरी रजिस्ट्रेसनको काम सम्पन्न गरेको र राजस्व पनि बुझाइसकेका भए पनि पूर्जामात्र वितरण हुन बाँकी रहेको स्थानीय दीपक खत्रीले जानकारी दिए । उनका अनुसार मालपोत कार्यालयका कर्मचारीको ढिलासुस्तीका कारण पुर्जा वितरण प्रक्रिया अघि बढ्न सकेको छैन ।

सेतो पुर्जा प्राप्त गरे पनि मान्यता नपाएका वडाका ९१ परिवारसँग झन्डै ९० हेक्टर क्षेत्रफलको जग्गा रहेको खत्रीले बताए । ती परिवारले हालको भूमि आयोगमा राजस्वबापत रु १३ लाखभन्दा बढी रकम बुझाइसकेका छन् । स्थानीय अझै पनि पुर्जा नपाउँदा जग्गाको कानुनी स्वामित्व सुरक्षित गर्नबाट वञ्चित भएका छन् ।

जग्गाको स्वामित्व नपाएका जग्गाधनी किसानले प्रमुख जिल्ला अधिकारी, मालपोत कार्यालय प्रमुख, नापी कार्यालय प्रमुख र भूमि आयोगका पदाधिकारीसँग भेट गरी तत्काल पुर्जा उपलब्ध गराउन माग गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा पालिका प्रमुखको सहभागितामा बसेको सरोकारवालाको बैठकले जग्गाधनी पुर्जा वितरणका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाएको खत्रीले बताए । प्रतिबद्धता जनाएका छन् तर प्रक्रिया अझै अगाडि नबढेको उनको भनाइ छ ।

स्थानीय बासिन्दाले वि.सं २०३२ देखि बसोबास गर्दै आएको जग्गा चलन भोग गर्दै आएका छन् । ‘आयोग गठन र विघटनको पुनरावृत्तिका कारण जग्गाको स्वामित्व पाउन नसकेका हौँ’, स्थानीय लक्ष्मण कार्कीले भने- ‘निरन्तर अन्योलमा पर्दै आएका छौँ ।’ स्थानीय बासिन्दाले तत्काल पुर्जा वितरण गरी दीर्घकालीन समाधानका लागि सरकारले ठोस पहल गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया