धनगढी । डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । शिखर नगरपालिका–२, मुडेगाउँकी २२ वर्षीया मंगला पार्कीको अरिङ्गालको टोकाइका कारण ज्यान गएको हो ।
गत असोज ४ गते दिउँसो घाँस काट्न गएकी पार्कीलाई अरिङ्गालले टाउको, हात र घाँटीमा टोकेर गम्भीर घाइते बनाएको थियो । घटनाको करिब दुई हप्तापछि, असोज १८ गते, उनकी आमा मुनुली विकले छोरीलाई उपचारका लागि राजपुरस्थित महाकाली मेडिकलमा पुर्याएकी थिइन्।
मेडिकलमा रगत अभाव देखिएपछि सोही दिन उनलाई जिल्ला अस्पताल डोटीमा भर्ना गरियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई मंगलबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रेफर गरिएको थियो ।
उपचारकै क्रममा बुधबार बिहान पार्कीको निधन भएको सेती प्रादेशिक अस्पतालले पुष्टि गरेको छ ।
प्रतिक्रिया