ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

विपिन जोशी रिहा हुने सम्भावना बढ्यो

मङ्गलबार २१, असोज २०८२ ०८:४६

धनगढी । गाजापट्टीमा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशी रिहा हुने सम्भावना बढेको छ । इजरायल र हमासबीच गाजापट्टीमा दुई वर्षदेखि जारी युद्धलाई अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे युद्धविराम योजना प्रस्ताव गरेका थिए । अमेरिकाको युद्धविराम प्रस्तावलाई इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासले स्वीकार गरेका छन् ।

युद्धविराम पूर्णरूपमा कार्यान्वयन भएमा पहिलो चरणमा हमासले नियन्त्रणमा रहेका सबै बन्धकलाई रिहाइ गर्नुपर्नेछ । इजरायल र हमासले ट्रम्पको प्रस्तावमा अनौपचारिक सहमति जनाएकाले जोशीसहित ४८ जनाको रिहाइको सम्भावना बढेको हो ।

युद्धविराममा औपचारिक सहमति गर्न सोमबार मध्यस्थकर्ताको सहजीकरणमा इजरायल र हमासका प्रतिनिधिबीच इजिप्टको राजधानी कायरोमा अप्रत्यक्ष वार्ता हुँदै छ ।

इजरायलका अनुसार हमासको नियन्त्रणमा रहेका ४८ जनामध्ये २० जना मात्रै जीवित रहेको अनुमान छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार जोशीको पछिल्लो अवस्थाबारे कुनै पनि जानकारी सार्वजनिक भएको छैन ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएर लगेको थियो । त्यस दिन हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । 

प्रतिक्रिया