ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी बस दुर्घटना : यी हुन् मृतक र घाइते

शनिबार १८, असोज २०८२ ०४:५८

धनगढी । धनगढीबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस शनिबार बिहान धनगढीको बोराडाँडीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बसमा सवार यात्रु तथा पैदल यात्री गरी २१ जना दुर्घटनामा परेका छन् । तीमध्ये एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा धनगढी उपमहानगरपालिका–४ बोराडाँडीका ६० वर्षीय गणेश शाहीको मृत्यु भएको छ । उनको टाउको र छातीमा गम्भीर चोट लागेर मृत्यु भएको हो । शवलाई पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये कैलाली कैलारी गाउँपालिका–१ की २१ वर्षीया सरस्वती चौधरी टाउकोमा चोट लागेर गम्भीर अवस्थामा छन् । कंचनपुर पुनर्वास नगरपालिका–६ का ३२ वर्षीय बिप्लव पोख्रेल नाक र दुबै खुट्टामा चोट लागेर मध्यम अवस्थाका छन् । उनलाई थप उपचारका लागि भारतको लखनउस्थित सामरा अस्पतालमा रिफर गरिएको छ । धनगढी उपमहानगरपालिका–५ हसनपुरका २० वर्षीय सुशिल भट्ट छातीमा चोट लागेर मध्यम अवस्थामा छन् ।

त्यस्तै, कंचनपुर पुनर्वास नगरपालिका–८ की २७ वर्षीया अस्मिता भट्टराई निधार र हातमा चोट लागेर उपचाररत छन् । सोही स्थानकी ३४ वर्षीया खडानन्द शर्मा बायाँ हातमा चोट लागेका छन् । पुनर्वास–६ की २६ वर्षीया अन्जना बिश्वकर्मा दाहिने हात र खुट्टामा चोट लागेर मध्यम अवस्थामा छन् । ५ वर्षीया छोरी एलियन बिश्वकर्माको पनि हातमा चोट लागेको छ । सोही ठाउँकी ६० वर्षीया लक्ष्मी बिश्वकर्मा दाहिने खुट्टामा चोट लागेर उपचाररत छन् । धनगढी उपमहानगरपालिका–१ का ३४ वर्षीय बिधान भण्डारी दाहिने हात र खुट्टामा चोट लागेका छन् ।

नबजिवन अस्पताल धनगढीमा उपचाररत घाइतेहरूमा धनगढी–५ तारानगरका ३२ वर्षीय मनिस श्रेष्ठ रहेका छन् । उनको टाउको र दाहिने हातमा चोट लागेको छ। सोही स्थानकी इन्दु श्रेष्ठको दाहिने हातमा चोट लागेको छ । उनी मनिस श्रेष्ठकी श्रीमती हुन्। उनीहरूको छोरी ६ वर्षीया प्रान्सी श्रेष्ठलाई बाहिरी चोट नलागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बसका सह–चालक स्याङ्जा फेदीखोला गाउँपालिका–१ का ३० वर्षीय बुद्ध गुरुङको दाहिने हातमा चोट लागेको छ । उपचारपछि उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा लिइएको छ ।

स्वस्तिक कार्डियो अस्पतालमा प्रारम्भिक उपचारपछि केही घाइतेलाई निसर्ग अस्पताल पठाइएको छ । तीमध्ये डोटी जोरायल गाउँपालिका–१ का २४ वर्षीय घनश्याम ओझा टाउको, पेट, हात र आँखामा चोट लागेका छन् । सोही स्थानका २१ वर्षीय पारस ओझा हात र खुट्टामा चोट लागेका छन् । कास्की पोखरा महानगरपालिका–१६ का २१ वर्षीय सुनिल परियार र सोही ठाउँकी ४५ वर्षीया मन्जु परियारलाई हात, खुट्टा र टाउकोमा चोट लागेको छ ।

निसर्ग अस्पताल धनगढीमा धनगढी–५ हसनपुरकी ३२ वर्षीया प्रिंयका श्रेष्ठको काध, औँला र दुबै खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको र सम्पर्क नम्बर रहेको प्रहरीले जनाएको छ । पोखरा–१६ का २५ वर्षीय प्रजोल पहाडी दाहिने हातमा चोट लागेका छन् । उनको अवस्था मध्यम रहेको र सम्पर्क नम्बर होव। कंचनपुर बेलौरी नगरपालिका–३ की २२ वर्षीया सबिना रोकायाको ढाडमा चोट लागेको छ र उनी पनि मध्यम अवस्थामा उपचाररत छन् ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर र १९ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार बस स्कुटीलाई जोगाउने क्रममा सडकबाट अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया