ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरमा कृषि पूर्वाधार बनाइन्छ, प्रयोग हुदैनन्

शनिबार १८, असोज २०८२ १०:५७

धनगढी । अर्बौ सरकारी बजेट लगानीमा सुदूरपश्चिममा ७८ वटा सानादेखि ठुलासम्म कृषि उत्पादन भण्डारण तथा संकलन केन्द्रहरु बनेका छन् । स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा बनेका ती संरचनामध्ये ४७ वटा प्रयोग भएको छैन ।

प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार कोल्ड स्टोर, कोल्ड च्याम्बर, कृषि उपज संकलन केन्द्र, रष्ट्रिक स्टोर, आलु भण्डारण गृह, बीऊ भण्डारण गृह, हाइटेक नर्सरी, पोष्ट हार्भेष्ट सेन्टर, हाट बजार, प्रशोधन उद्योग जस्ता संरचना निर्माण गरिएको भएपनि प्रयोग नभएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र, स्थानीय तह लगायत सरकारी निकायहरुले ति संरचनाहरु निर्माण गरेर स्थानीय कृषि उत्पादक समूह, व्यवस्थापन तथा सञ्चालक समिति, सहकारी र फर्महरुलाई हस्तान्तरण गरिएको छ । कतिपय संरचना सञ्चालनका लागि समिति गठन तथा हस्तान्तरण समेत हुन बाँकी छ ।

संरचना निर्माणमा राज्य कोष खर्च भए पनि किसानले ती संचरनाहरुमा आफ्नो कृषि उत्पादन भण्डारण गर्न नरुचाउदा पाँच टनदेखि तीन हजार टनसम्मको भण्डारण क्षमता भएका स्टोरहरु खेर गइरहेका छन् । हाट बजार, बिक्री केन्द्र तथा संकलन केन्द्र अपायक स्थानमा बनेकाले प्रयोग हुन सकेका छैनन् । आलु तथा आलुको बीऊ भण्डारण गर्ने उद्देश्यले निर्माण गरिएका रष्टिक स्टोर (स्थानीय कच्चा पदार्थ गरी परम्परागत तरिकाले तापक्रम र आद्रताको सन्तुलन मिलाउन बनाइएको सानो क्षमताको भण्डारण गृह) किसानले उत्पादन नै गर्न नसकेपछि प्रयोग हुन सकेका छैनन् ।

बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ५ मा निर्माण गरिएको रष्टिक स्टोर आलु नै उत्पादन नभएपछि बन्द छ । कृषि ज्ञान केन्द्र बाजुराले ६ वर्ष पहिले निर्माण गरेको रष्टिक स्टोर सञ्चालनका लागि शिलादेव आलु बीऊ उत्पादक कृषक समहलाई हस्तान्तरण गरिएको थियो । समूहका अध्यक्ष टेक रावतका अनुसार पहिलो वर्ष नै आलुको बीउ उत्पादन सफल भएन । ‘अर्को वर्षदेखि किसानहरुले आलु खेती गर्न छोडे,’ उनले भने, ‘उत्पादन नै नभएपछि स्टोर उत्तिकै रह्यो ।’

कृषि ज्ञान केन्द्रको १० लाख रुपैयाँ लगानी र स्थानीय उपभोक्ताको साझेदारीमा निर्माण गरिएको १० टन भण्डारण क्षमताको रष्टिक स्टोर अलपत्र छ । ‘हाम्रो औल क्षेत्र भएको हुनाले आलु उत्पादन हुने हावा पानी छैन,’ उनले भने, ‘माथि लेकतिरका किसानहरुले चिसो हावापानी भएको हुनाले राम्रो उत्पादन गर्छन् । हामीसंगै बनाएको स्टोरमा हरेक वर्ष आलुको बीऊ राख्छन् । एउटै गाउँमा दुई/तीन वटा रष्टिक स्टोर सञ्चालन गरेका छन् ।’

खप्तड बझाङको जयपृत्वी नगरपालिका वडा नं. ३ पुंगरका किसानले लगाएको आलुखेती बाँदरले नोक्सान गरिदिन थालेपछि आलु उत्पादन गर्न सकेका छैनन । तर, पुंगरमा पनि पाँच टन क्षमताको आलु भण्डारणका लागि प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाको सहयोगमा रष्टिक स्टोर बनाएका छन् । २०७५/७६ मा किसान र परियोजनाको साझेदारीमा बनाइएको स्टोर प्रयोगबिहीन रहेको पुंगर फलफूल तथा तरकारी उत्पादक किसान समूहका अध्यक्ष रमेश ओलीले बताए । 

उनले सुरुको वर्ष राम्रै उत्पादन गरेको भएपनि पछिल्ला वर्षहरुमा लगाउने वित्तिकै बाँदर आएर उखेली दिने गरेको बताए । ‘आलु बाहेकका तरकारी जेनतेन उत्पादन गरिरहेका छौं,’ उनले भने, ‘आलु उत्पादन हुन नसकेपछि स्टोर प्रयोगबिहीन छ । जसको जग्गामा स्टोर बनाइएको छ । उसैले कहिलेकाँही आफ्नो उत्पादन राख्छन् । आलु बाहेकको तरकारी स्टोर गर्न मिल्दैन । तरकारी उत्पादन हुने वित्तिकै गाडीमा राखेर सदरमुकाम लगेर बेचिहाल्छौं ।’

कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा डेढ करोड रुपैयाँ लगानी गरी निर्माण गरिएको ३२० टान क्षमताको कोल्ड स्टोर अत्तरिया कृषि थोक बजारलाई हस्तान्तरण हुन सकेको छैन । कोल्डस्टोरको सम्पूर्ण संरचना निर्माण भइसकेको भएपनि परीक्षण नगरिएकोले हस्तान्तरण लिन नसकिएको अत्तरिया कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज जोशीले बताए । उनले परीक्षण नभएसम्म लिकेज सम्भावना रहेको र लिकेज भए सञ्चालन गर्न कठिनाई हुने भएकाले हस्तान्तरण नलिएको बताए ।

प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशमा ३७ वटा रष्टिक स्टोर, १५ वटा तरकारी संकलन केन्द्र, ६ वटा हाट बजार, ७ वटा कोल्ड चेम्बर, ६ वटा कोल्ड स्टोर, दुई वटा हाईटेक नर्सरी, एउटा सित भण्डार, दुई वटा राइपेनिङ चेम्बर, एउटा चिप्स उद्योग र एउटा फलफूल प्रशोधन उद्योग निर्माण भएको छ । ति मध्ये ४७ वटा संरचना प्रयोगबिहीन छ ।
प्रदेशमा सात वटा कोल्ड स्टोर निर्माणको योजना पनि अलपत्र परेको छ । कृषि विकास निर्देशनालयले २०७८ बैशाखमा दुई करोड ९५ लाख ७१ हजार ७५२ रुपैयाँमा १८५ टन स्टोरेज क्षमता भएको सात कोल्ड चेम्बर निर्माण अधुरै छ भने चालु आर्थिक २०८२/८३ मा पनि पाँच वटा नयाँ कोल्ड स्टोर निर्माणका लागि प्रति योजना १० देखि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यि बाहेक कृषि ज्ञान केन्द्रहरुमा रष्टिक स्टोर, तरकारी तथा फलफूल संकलन केन्द्र, सहकारीको साझेदारीमा पोष्ट हार्वेष्ट सेन्टर र कष्टम हाइरिङ सेन्टर जस्ता कृषि पूर्वाधार विनर्माण गर्न करौडौंको विनियोजन गरिएको निर्देशनालयले जनाएको छ ।

कृषि पूर्वाधार बन्नु एकदमै राम्रो भए पनि उपयुक्त स्थानको छनौट र प्रयोग हुने अवस्थाको विश्लेषण गर्न आवश्यक रहेको कृषि ज्ञान केन्द्रका अधिकृत केशवराज पाण्डेयले बताए । उनले किसानको माग बमोजिम यस्ता पुर्वाधार निर्माणमा लगानी गर्दै आएको बताए । कैलाली र कञ्चानपुरमा कष्टम हाइरिङ सेन्टर र कञ्चनपुरमा पोष्ट हार्वेष्ट सेन्टर स्थापना र संचालनका लागि गतवर्षदेखि एक/एक करोड रुपैयाँ विनियोजन हुँदै आएको भएपनि कार्यान्वयन हुन सकेको छैन । 

प्रतिक्रिया