ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

‘भोलि छ दसैँको दिन...’

बुधबार १५, असोज २०८२ ११:२५

धनगढी । साहित्यकार निर्मलकुमार भण्डारी तीन दशकअघि पुर्खेउली थलो डोटीको जोरायलमै थिए । ०५२ सालमा दसैँकै दिन डोटीमा बस दुर्घटनाको खबर सुनियो । ‘दसैँको अघिल्लो राति चालकले बस नै सेती नदीमा फालिदिएका थिए,’ भण्डारी भन्छन् । एकिन विवरण जानकारी नभए पनि उक्त घटनामा दुई दर्जन बढीको ज्यान गएको थियो ।

तीन दशक पुरानो सेती बस घटनामा आधारित ‘भोलि छ दसैँको दिन काटु कटालैको सेरो’ गीत अहिले पनि उत्तिकै चर्चामा छ । दसैँ आउँदा त्यो बेलाको कारुणिक क्षणलाई सुदूरपश्चिमवासीले सोही गीतमार्फत सम्झिदै आएका छन् । गीतमा डेउडा गायक भोजराज भट्ट, मीना प्रसाईं र सविता भट्टको स्वर छ । गायक भट्ट उक्त गीत सत्य घटनामा आधारित मात्र नभएर सत्य घटना नै भएको बताउँछन् । ‘मैले धेरै गीत गाए तर जब म त्यो गीत गाउँदाको क्षण बेग्लै थियो,’ उनी भन्छन् । 

दुर्घटना भएको बसका चालक जोरायलकै शाहु थरका व्यक्ति थिए । साहित्यकार भण्डारीले सेती बस घटनामा आधारित भएर रेडियो नेपालको ‘डेउडा गीतको सेरोफेरो’ कार्यक्रममा गीत लेखेर पठाए । ‘रेडियोलाई पत्रमार्फत पठाएको त्यो गीत केही समयपछि रेकर्डिङ भएर क्यासेटमा आयो,’ भण्डारी सम्झिन्छन् । भण्डारीका अनुसार यात्रुसंगको मनमुटावका कारण आवेगमा आएर बस चालकलाई बस सेती नदीमा फालेका थिए । 

उक्त बस कैलालीको अत्तरियाबाट अछामका लागि छुटेको थियो । त्यो सयममा भीमदत्त राजमार्ग पूर्ण रुपमा कालोपत्रे भइसकेको थिएन । तराईका सम्म मैदानहरु ढल्किदै गोदावरीको उकालोबाटो डडेल्धुराको स्याउँलेमा पुग्यो त्यो बस । स्याउले बजार पुग्दा झमक्क रात परिसकेको थियो । डडेल्धुरा, बैतडी, बझाङ र दार्चुला जाने यात्रु स्याउलेमै झरे । बसमा बाँकी थिए, डोटी र अछाम जाने यात्रु । डोटी पुग्न अझै ५५ किलोमिटर यात्रा गर्नुथियो । 

बसका यात्रुबीच स्याउलेमा मतभेद हुन थाल्यो । केहीले राति स्याउलेमै बस्ने भने त केहीले भोलिपल्ट दसैँ भएकाले यात्रा रोक्न नहुने बताए । बस चालकले बस्नै परे डोटीको दीपायल बसौँला भन्दै डोटी र अछामका यात्री बोकेर स्याउलेबाट ओरोलो लगाए बस । 

बाटोभरी यात्रु र चालकबीच मनमुटाव हुँदै गयो । अन्ततः रातको ९ बजेको समयमा बस दीपायल हुँदै सेतीको पुलमा पुग्यो । चालकले सेतीको छालमा बस र यात्रुलाई बिलिन बनाइदिए । आफू फरार भए । दसैँको अघिल्लो दिन भएको त्यो घटना अझै धेरैको स्मरणमा छ ।

प्रतिक्रिया