धनगढी । कैलालीमा फरार कैदीबन्दीलाई सम्पर्कमा आउन २० गतेसम्मको समय दिइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै फरार रहेका कैदीबन्दीले असोज २० गतेसम्म पनि कारागार र प्रहरीको सम्पर्कमा नआए कारागार ऐन र प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको छ ।
यस्तै फरार कैदीबन्दीलाई लुकाउने र आश्रय दिनेलाई पनि कारबाहीको दायरामा ल्याइने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । जोशीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन भइसकेको छ ।
प्रशासनले आम सर्वसाधारणलाई पनि सहयोग गर्न आग्रह गर्दै फरार कैदीबन्दीहरूको अवस्थाबारे जानकारी भएमा नजिकैको प्रहरी वा १०० नम्बरमा गोप्य रूपमा खबर गर्न अनुरोध गरेको छ ।
जेनजी आन्दोलनका क्रममा कैलाली कारागारबाट ६६६ कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीमध्ये ३२७ जना कारागार फर्किसकेका छन् ।
पक्राउ परेका कतिपय कैदीबन्दी अन्य जिल्लाका कारागारबाट फरार भएकाहरु पनि छन् । प्रशासनका सूचना अधिकारी जोशीले कैलालीबाट फरार भएका कतिपय कैदीबन्दी अन्य जिल्लाको कारागारमा फर्किएको जानकारीमा आएको बताए ।
प्रतिक्रिया