धनगढी । भारतको बेङ्गलोरबाट घर फर्कन लागेका बझाङको थलारा गाउँपालिका–२, दंगाजीका प्रकाश खातीले गौरीफन्टा–त्रिनगर नाका पार गर्न निकै सास्ती खेप्नु पर्यो । श्रीमती र दुई नाबालक छोरीसँगै चार वर्षपछि दसैँ मनाउन घर फर्कन लागेका उनले नाका वारि आइपुग्न तीन घण्टा लाइन लागेको बताए । ‘बिहान आठ बजे गौरीफन्टा पुगेका थियौँ,’ उनले भने, ‘लाइन लागेर वारि आउन ११ बज्यो । यस्तो चर्को घाममा घण्टौँ लाइन लाग्न निकै सास्ती भयो ।’ एसएसबीले परिचयपत्र मागेको र सामान चेक गरेको उनले बताए ।
गौरीफन्टा र नेपालतर्फ त्रिनगर नाका जोडिएकोले सामान्यतया वारपार गर्न समय लाग्दैन । भारतको दिल्लीबाट फर्किएकी कैलालीको लम्कीचुहा नगरपालिकाकी धिरजा न्यौपानेले नाका पार गर्न दुई वर्षीय छोरा काखी च्यापेर साढे दुई घण्टा लाइन बस्नु परेको बताइन् । उनले भनिन्, ‘नाका पार गर्न धेरै गाह्रो रहेछ ।’
कारागारबाट भागेका कैदीबन्दी आउनसक्ने भन्दै आन्दोलनपछि केही दिन यो नाकाबाट नेपालीलाई भारत जान रोक लगाइएको थियो । अहिले आवातजावत खुलाइए पनि एसएसबीले चेकजाँचमा कडाइ गरेको छ । रोजगारीको शिलशिलामा भारतमा रहेका नेपालीहरु दसैँ सुरु भएसँगै घर फर्कन थालेका हुन् । नाकामा घर फर्कनेको घुँइचो लागेको छ ।
भारतीय प्रहरी र भन्सार कर्मचारीले सामान चेकजाँचको नाममा पैसा असुलिरहेको गुनासो घर फर्किरहेका नेपालीले गरेका छन् । काम गरेर आउनेहरुले केही न केही सामान ल्याएका हुन्छन् । त्यही सामान ल्याएको बाहानामा फर्किएका अधिकांशसँग पैसा असुल्ने गरिएको बताइएको छ ।
बैंग्लोरबाट फर्किएका कैलालीको मसुरियाका प्रकाश बिकले सामान ल्याएबापत भारतीय प्रहरीले तीन सय भारु असुलेको बताए । ‘त्यहाँ प्रयोग गरेको टीभी ल्याएको थिएँ । केही लुगाकपडा र अरु सामान थिए,’ उनले भने, ‘तीन सय रुपैयाँ मागे । पैसा नदिए सामान राखिदेलान् भन्ने लाग्यो ।’
बैंग्लोरबाटै आएका बाजुराको खप्तड छेडेदह गाउँपालिका काँडाका लोकेन्द्र रावतले गौरीफन्टामा भारतीय सुरक्षाकर्मीलाई दुई सय भारु बुझाएको बताए । रावतका अनुसार उनीसँग रहेको दुईवटा सुटकेस हेरेपछि भारतीय सुरक्षाकर्मीले दुई सय मागेका थिए । रोकेर राखिदेलान् भन्ने डरले पैसा दिएर आएको उनले बताए । ‘सुटकेस हेरेर पैसा लाग्छ भन्यो । अर्काको देश, पैसा दिँदैन भनेर विवाद गर्न सकिएन’ रावतले भने, ‘मसँगै लाइनमा रहेका धेरैले पैसा दिए । केही पैसा नदिएर सरासर निस्के पनि ।’
त्रिनगर नाकामा खटिएका एक प्रहरीका अनुसार घर फर्किरहेका धेरैजसो नेपालीसँग भारतीय सुरक्षाकर्मीले पैसा असुलिरहेका छन् । ‘चाडपर्वका बेला सधै यस्तै हो, विभिन्न वहानामा पैसा असुल्छन्,’ ती प्रहरीले भने, ‘हामी पारि गएर पैसा नलिनु भन्न पनि सक्दैनौँ ।’ घर फर्कनेलाई वारि रिक्सा चालकले पनि चौराहा, बसपार्कसम्म पु¥याएको मनपरी भाडा असुल्ने गरेका छन् ।
चाडवाडका बेला घर फर्कने नेपालीको घुँइचो लाग्न थालेपछि नाकामा सशस्त्र र नेपाल प्रहरीको सहायता कक्ष स्थापना गरिएको छ । पैसा असुलेको गुनासो भने सहायता कक्षमा नआएको सशस्त्र प्रहरी ३४ नम्बर गण धनगढीका सशस्त्र प्रहरी नायब उपरीक्षक जनकराज पन्तले बताए । पैसा असुलेको गुनासो आए भारतीय सुरक्षा अधिकारीहरुसँग समन्वय गरिने उनले बताए ।
प्रतिक्रिया