ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा खटाइयो पाँच हजार बढी प्रहरी, यस्तो छ चाडपर्व लक्षित सुरक्षा योजना

बिहिबार ०९, असोज २०८२ १०:४८

धनगढी । सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ । नेपाल प्रहरीले दसैँ सुरु भएसंगै चाडपर्व लक्षित सुरुक्षा योजना लागू गरेको हो । दसैँ, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना लागू गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटका अनुसार सुरक्षा योजनाअन्तर्गत प्रदेशभर पाँच हजार बढी प्रहरी परिचालन गरिएको छ । ‘चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत पाँच हजार ७७ जना प्रहरी परिचालन गरेका छौं,’ एसएसपी रानाभाटले भने, ‘कुनै पनि घटनाको जानकारी प्राप्त भएको दुई मिनेटमा टोली परिचालन हुने गरी क्वीक रेस्पोन्स टिम (क्यूआरटी) बनाएका छौं ।’

प्रदेशमा यसअघि पनि क्यूआरटी रहेकोमा चाडपर्वका लागि उक्त टिममा प्रहरीको संख्या बढाइएको छ । एसएसपी रानाभाटका अनुसार प्रदेशभर क्यूआरटीमा ७२ जना प्रहरीलाई राखिएको छ । ‘चाडपर्वको समयमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा रोकथामका लागि नौ वटै जिल्लामा समन्वय गर्नका लागि प्रदेश प्रहरी प्रमुख डिआईजीको नेतृत्वमा एउटा कमाण्ड पोष्ट बनाइएको छ,’ प्रहरी वरिष्ठ उपरीक्षक रानाभाटले भने, ‘प्रदेशका नौ वटै जिल्लामा सम्बन्धित जिल्लाका प्रहरी प्रमुखको नेतृत्वमा पनि कमाण्ड पोष्ट बनाइएको छ ।’

एसएसपी रानाभाटले अपराधिक गतिविधि नियन्त्रणका लागि गस्ती बढाइएको छ भने सादा पोसाकका प्रहरीको संख्या पनि बढाइएको जानकारी दिए । उनका अनुसार चाडपर्वमा हुने आवागमनलाई सहज बनाउन बसपार्क, सीमा नाका लगायतका ठाउँमा नागरिक सहायता कक्षा स्थापना गरिएको छ । चाडपर्वको अवधिमा आवागमन धेरै हुने भएकोले ट्राफिक व्यवस्थापनको योजना पनि बनाइएको छ । दुर्घटना नियन्त्रणका लागि सुरक्षा जाँचमा विशेष कडाई गरिएको एसएसपी रानाभाटले बताए । 

प्रदेश प्रहरी कार्यालयले यसपटक कैदीबन्दी फरार भएका कारण सुरक्षा चुनौती अन्य समयको चाडपर्वभन्दा बढी रहेको जनाएको छ । जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशबाट एक हजार ४५८ जना कैदीबन्दी फरार भएका थिए । उनीहरुमध्ये ९२२ कैदीबन्दी कारागार फर्किसकेका छन् भने ५३६ कैदीबन्दी अझै फरार रहेका छन् ।

प्रतिक्रिया