धनगढी । जेनजी आन्दोलनको क्रममा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय र मातहतका कार्यालयमा ध्वस्त हुने गरी तोडफोड र आगजनी भए पनि लेखा प्रणाली भने सुरक्षित छ । सरकारी कार्यालय खोजीखोजी जेनजी प्रदर्शनकारीले जलाएको भए पनि लेखा शाखाहरुमा सामान्य तोडफोड मात्रै भएको मन्त्रालयहरुले जनाएका छन् । प्रदर्शनकारी केही मन्त्रालयको लेखा शाखामा रहेको फाइल निकालेर आगोमा झोसेका थिए । तर, अधिकांश श्रेस्ता सुरक्षित रहेको प्रदेश सरकारका लेखा अधिकृतहरुले जनाएका छन् ।
तोडफोड र आगजनीबाट सबैभन्दा बढी क्षति भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत लेखा शाखामा सामान्य क्षति भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका लेखा अधिकृत भोजराज जोशीले तीन वटै मन्त्रालयको लेखा शाखामा कम्प्युटर तोडफोड बाहेकको क्षति नभएको बताए । उनले लेखा शाखाको सबै श्रेस्ता सुरक्षित रहेको बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता नवराज ओझाका अनुसार तीन वटै मन्त्रालयको लेखा शाखा तेस्रो तलामा थियो । ‘आन्दोलनकारीहरुले तलबाट तोडफोड र आगजनी गर्दै माथि गएका थिए,’ उनले भने, ‘तल आगो दन्की सकेको हुँदा आन्दोलनकारीहरु तेस्रो तलामा सामान्य तोडफोड गरेर फर्केका थिए । दोस्रो तलाको आगो तेस्रो तलामा सल्किन नपाएकाले लेखा शाखा र त्यस तलामा भएका सामान बचेको छ ।’
प्रवक्ता ओझाले तेस्रो तला रहेको अन्य शाखा र लेखा शाखाको कम्प्युटर, फर्निचर र झ्याल–ढोकोको सिसा टुटेको बताए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयको समेत लेखा शाखा र त्यसमा रहेको बजेट खर्च सम्बन्धी फाइलहरु सुरक्षित रहेको लेखा अधिकृतहरुले बताएका छन् ।
सामाजिक विकास मन्त्रालयको लेखा शाखामा आन्दोलनकारीहरु पस्न पाएनन् । मन्त्रालयका लेखा अधिकृत यज्ञराज लेखकले आन्दोलनपछि लेखा शाखाको ताला तोडेको भेटिएको बताए । ‘तर, तोडफोड आगजनी भएको थिएन,’ उनले भने, ‘सामाजिक विकास मन्त्रालयको तल्लो तलामा रहेका हल र मन्त्रीज्यूको कार्यकक्षमा तोडफोड र आगजनीबाट क्षति भएको छ ।’
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको लेखा शाखामा एक कर्मचारीले प्रदर्शनकारीले प्रवेश नै गर्न दिएनन् । सो मन्त्रालयको भुइँ तलामा प्रवेश गर्ने वित्तिकै भेटिने लेखा शाखा एकजना कार्यालय सहयोगीले जोगाएको अधिकृत मनोज जोशीले बताए । उनले मन्त्रालयको भूइँतलादेखि तेस्रो तलामा रहेको मन्त्री कक्ष समेत जलेको बताए ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको लेखा शाखा पूर्ण रुपमा जोगिएको लेखा अधिकृत महेश चौधरीले बताए । उनले मन्त्रालयको भूइँ तलामा सामान्य तोडफोड बाहेकको क्षति नभएको बताए । उनले रिल बनाएर आफ्नो कार्यकक्ष सुरक्षित रहेको फेसबुकमै पोष्ट गरेका छन् । उनका अनुसार मन्त्रालय परिसरमै रहेको प्रदेश पर्यटन विकास योजना कार्यान्वयन इकाई (पर्यटन इकाई) मा पनि सामान्य तोडफोड भएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट हालै बिदा भई कृषि ज्ञान केन्द्र कञ्चनपुर सरुवा भएका बरिष्ठ कृषि प्रसार अधिकृत हरिप्रसाद पनेरुले कृषि मन्त्रालयको लेखा शाखा र श्रेस्ता सुरक्षित रहेको बताए । ‘आगजनीपछि सरसफाई गर्दा लेखा शाखाको कम्प्युटर र दराज तोडफोड भएको भेटियो,’ उनले भने, ‘आन्दोलनकारीले दराजबाट निकालेर केही फाइलहरु आगोमा झोसेका थिए । तर, धेरै जसो फाइल सुरक्षित छन् ।’
प्रतिक्रिया