धनगढी । जेनजी आन्दोलनपछि सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व छाड्नु पर्ने आन्तरिक र बाह्य दबाब बढिरहेका बेला सुदूरपश्चिमस्थित प्रदेश सांसदसहित अगुवा नेताहरु भने देउवाको रक्षामा एकजुट हुन थालेका छन् । उनीहरुले हाल देउवामाथि आक्रमण भएर उपचारकै क्रममा रहेकाले पदबाट हट्न दबाब सिर्जना गर्नु अनुचित हुने बताएका छन् ।
पछिल्लो परिस्थितिमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताइसकेका छन् । त्यसका लागि उनीहरुले जिल्लाजिल्लामा हस्ताक्षर अभियानसमेत सञ्चालन गरिसकेका छन् ।
यसैबीच मंगलबार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा प्रदेशसभाका सदस्यहरु, राष्ट्रियसभाका सांसदहरु, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारीहरु र कैलाली कञ्चनपुरका सभापतिसहितको बैठकले सभापति देउवाविरुद्ध हस्ताक्षर अभियान अनुचित भएको निष्कर्ष निकालेको हो । बैठकले अहिलेको कठिन अवस्थामा पार्टीको आन्तरिक एकता सुदृढ गर्नु पर्नेमा जोड दिएको छ ।
‘पार्टी सभापति अस्पतालको शय्यामा भएका बेला उहाँकै विरुद्ध हस्ताक्षर अभियान सञ्चालन गर्नु अनुचित भएको निष्कर्ष रह्यो,’ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिका प्रवक्ता सुरतबहादुर रावतले भने, ‘यस्ता गतिविधिले पार्टीलाई विभाजनतिर लैजान्छ भन्नेमा चिन्ता हो ।’
मुख्यमन्त्री शाहले पार्टीको आन्तरिक एकता थप मजबुत बनाउदै वर्तमान अवस्थाको राजनीतिक निकासका लागि जेनजी प्रतिनिधिसहितको राष्ट्रिय सहमतिमा विघटित प्रतिनिधि सभाको पुनःस्थापन गर्नु नै सबैभन्दा उत्तम हुने बैठकको निष्कर्ष रहेको बताए ।
उनले प्रदेश संरचनाप्रति जनगुनासो बढिरहेका बेला प्रदेश राख्ने नै हो भने अधिकार सम्पन्न बनाएर राख्नु उचित हुने अन्यथा प्रदेश खारेज गरे पनि फरक नपर्ने बुझाई रहेको बताए । ‘अहिलेको जस्तै नाम मात्रको प्रदेश राख्नुको कुनै अर्थ छैन । राख्ने नै हो भने अधिकार सम्पन्न हुनु पर्यो भन्ने हो,’ मुख्यमन्त्री शाहले भने ।
बैठकमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाका सांसद नारायणदत्त मिश्र र नारायणदत्त भट्ट, प्रदेश सांसदहरु, केन्द्रीय सदस्यहरु नृपबहादुर वड र सुशीला मिश्र, कञ्चनपुरका सभापति पदम बोगटी, प्रदेश कार्य समितिका कार्यबाहक सभापति लोकराज अवस्थीलगायतको उपस्थिति रहेको सहभागि नेताहरुले बताएका छन् ।
प्रतिक्रिया