नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रीहरू जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियारले शपथ लिएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा खरेलले सञ्चार, पुनले शिक्षा, विज्ञान तथा प्रविधि, सिन्हाले उद्योग, कानुन र भूमि तथा परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् ।
स्वास्थ्यमन्त्रीमा संगीता मिश्राको नाम सिफारिस भएको भए पनि अन्तिम समयमा उनको नाम काटिएको छ ।
प्रधानमन्त्री कार्यालयले आइतबार सिफारिस गरिएको पत्र शीतलनिवासबाट फिर्ता मागी सोमबार चार जनाको नाम मात्रै सिफारिस गरेर दोस्रो पत्र पठाएबमोजिम मन्त्रीहरूको नियुक्ति र शपथ भएको हो ।
‘अहिलेलाई स्वास्थ्यमन्त्री पद खाली नै राखिएको छ’, स्रोतको भनाइ छ । मिश्र प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रूपमा चिनिन्छिन् ।
उनले स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व पनि गरेकी थिइन् । उनी तीन वर्षदेखि अतिरिक्त सचिव छिन्। गत वर्षको फागुनमा डा. विकास देवकोटा सचिवमा बढुवा भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै उनी बिदामा बसेकी थिइन् । मन्त्री बन्ने तारतम्य मिलाएपछि उनले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् ।
प्रतिक्रिया