धनगढी । यात्रुवाहक सार्वजनिक सवारीसाधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।
रुट परमिट खुला गरेसँगै अब रुट नलिइ सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन् । कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनलाई भने सो बन्देज कायमै राखिने भएको छ ।
रुट परमिट खुला आगामी २२ असोजसम्म कायम रहने अध्यक्ष स्वाँरले बताए । सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा टिकट लिनुपर्ने महासंघले जनाएको छ । यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायतका ठूला सवारीसाधन आजदेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।
प्रतिक्रिया